कास्कीगण्डकीसमाचार

पोखरा- २६ का जनप्रतिनिधिले गरे एक वर्षको समीक्षा

पोखरा, १३ जेठ । पोखरा महानगरपालिका वडा नं. २६ का निर्वाचित जनप्रतिनिधिहरूले कार्यकालको एक वर्षमा सम्पादन गरेका कामहरूको शनिवार समीक्षा गरेका छन् । गत वर्षको स्थानीय तहको निर्वाचनपछि २०७९ जेठ १३ गते पदस्थापन गरेका निर्वाचित प्रतिनिधिले एक वर्षमा गरेका कामहरूलाई वडावासीबिच प्रस्तुत गरेका हुन ।

सो अवसरमा वडाध्यक्ष नरेन्द्र थापाले एक वर्षे कार्यकालमा १८ करोड ६५ लाख रुपैयाँ विनियोजन भएको उल्लेख गर्दै, झण्डै ८० प्रतिशत काम सम्पन्न भएको उल्लेख गरे । बैशाख मसान्तसम्म विनियोजित रकमबाट ६० प्रतिशत र जेठको दोस्रो हप्तासम्म थप २० प्रतिशत योजनामा प्रगति भएको उल्लेख गरे । असार मसान्तसम्म लक्षित बजेटबाट पुरै काम हुने अध्यक्ष थापाले बताए ।

एक वर्षे कार्यकालको समीक्षा गर्दै, थापाले वडामा सडक कालोपत्रे, ढल र नाला निर्माणका कामले तीव्रता पाएको उल्लेख गर्दै, सबै टोल र वडामा पक्की सडक पुर्‍याएको उल्लेख गरे । अध्यक्ष थापाले वडा, महानगर र प्रदेश सरकारको समेत बजेटबाट विभिन्न क्षेत्रमा गरी १ सय २९ योजना सम्पन्न भएको जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा वडा भेला गरी योजना संकलन गरिएको र ती योजना बैंक स्थापना गरी कार्यान्वयन गरिँदै लगिएको पनि अध्यक्ष थापाले बताए । योजना बैंकमा ३ सय ४० योजना रहेकोमा एक सय २९ योजनाको कार्य सम्पादन भएको बताउँदै, अध्यक्ष थापाले आ.ब. २०८०÷०८१ मा थप योजनालाई योजना बैंकमा समावेश गरी कार्यान्वयन गरिँदै जाने बताए ।

अध्यक्ष थापाले भौतिक पूर्वाधार बाहेक प्रशासनिक सेवालाई जनताको घरदैलोमा पुर्‍याएको उल्लेख गर्दै, योजना छान्न वडा भेला गरिएको, ज्येष्ठ नागरिकको भत्ता नवीकरण टोल/टोलमा पुगेर गरिएको । ज्येष्ठ, अपाङ्गलाई टोल टोलमा पुगेर सहायता सामाग्री वितरण गरिएको र वडा कार्यालय भवनको सुधार गरी एकद्वार प्रणालीबाट जनताको सिफारिस र सेवा प्रवाह गरिएको उल्लेख गरे ।

वडा अध्यक्ष थापाले आगामी आर्थिक वर्षका लागि समेत ३६ वटा योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, अतिक्रमित सडकको मापदण्ड लागु गरी अवैध संरचना हटाउने, वडा कार्यालयको प्रशासनिक भवनका लागि जग्गा प्राप्ति र भवन निर्माण, कृषि उत्पादनको पकेट क्षेत्र तोक्ने, पहाडी भागलाई सहरी केन्द्रसँग जोड्ने गरी सडक निर्माण लगायतका योजनालाई प्राथमिकता दिइने उल्लेख गरे ।

वडा अध्यक्ष थापाले सामुदायिक बनहरूलाई बाँदर मैत्री बनाउन कटुस, दमौरो, अँगेरी ऐसेलु तिजुका रुख कटान रोकी बन उपभोक्ता समितिसँगको सहकार्यमा फलफूलका बिरुवा रोप्ने अभियान गरिने, वडामा रहेका पुराना चौतारा, खानेपानीका मुहानहरूको संरक्षण र संवर्द्धन गरिने योजना आगामी आर्थिक वर्षमा समेटिने उल्लेख गरे ।

थापाले सोतो चोक, तल्लो कडेनी, कालिकाचोक, भित्री खेत, सिमलपोखरा, लक्ष्मी मावि हुँदै गडुवा खोलासम्म नाला निर्माण गरी डुबानको समस्या समाधान गर्ने योजना रहेको उल्लेख गर्दै, कालिका—मिजुरे सडकलाई स्तरीय बनाउनका लागि महानगर, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने बताए । जग्गा बाझो राख्ने कार्यलाई निरुत्साहित गर्दै, बाँझो जग्गा राख्ने जग्गाधनीको जग्गामा कृषि व्यवसाय गर्न इच्छुक किसानका लागि जग्गा उपलब्धता गराउन वडा स्तरीय कृषि सञ्जाल मार्फत सहजीकरण गरिने उल्लेख गर्दै अध्यक्ष थापाले वडावासीहरूलाई तरकारीमा आत्मनिर्भर बनाउन कौसी खेतीका लागि प्रोत्साहन गर्ने गरी योजना बनाइने समेत बताए ।

समीक्षा एवं आगामी आर्थिक वर्षको योजना तर्जुमा कार्यक्रममा बोल्दै पूर्व कानून मन्त्री यज्ञबहादुर थापाले आफू मन्त्री हुँदा वडा विकासमा गर्न नसकेको उल्लेख गर्दै, वडामा ऐतिहासिक बजेट विनियोजन भएको उल्लेख गरे । उनले दीर्घकालीन र रणनीतिक हिसाबले सडक पूर्वाधारको प्रस्ताव उल्लेख गरिएको भन्दै, योजना कार्यान्वयनका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

पूर्व मन्त्री थापाले वडामा रहेका तालहरूलाई पर्यटकीय क्रियाकलाप सञ्चालन गर्ने गरी योजना बनाउन समेत सुझाव दिए ।

कार्यक्रममा साबिक लेखनाथ नगरपालिकाका पूर्व प्रमुख शालिग्राम पौडेलले युवाले नेतृत्व गरेको वडामा रोजगारी सिर्जनामा जोड दिनु पर्ने बताए । उनले युवाहरूमा केही गरौँ भन्ने हुटहुटी हुने उल्लेख गर्दै, साबिक लेखनाथ नगरपालिकाले निर्माण गरेका योजनाको अपनत्व लिन समेत आग्रह गरे । उनले भौतिक पूर्वाधारको विकाससँगै मानवीय संसाधनको विकासमा जोड दिन समेत आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका नेता झलकपाणी तिवारीले २०६२/०६३ सालको परिवर्तन पछि जनताको अधिकारको अभ्यास वडा स्तरसम्म भएको उल्लेख गर्दै, भौतिक विकासलाई मात्र विकासका रूपमा लिन नहुने उल्लेख गर्दै, रोजगारी, सिप, दक्षता र आत्मनिर्भर हुने गरी योजना बनाउन सुझाव दिए ।

कार्यक्रममा पूर्व न्यायाधीश वासुदेव न्यौपानेले विकासको बजेटमा रेखदेख र खबरदारी रहनु पर्ने उल्लेख गर्दै, कामको गुणस्तरमा ध्यान दिन समेत आग्रह गरे ।

वडा अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका अधिकारी, नेपाली काँग्रेस वडा इकाई सभापति शिवबहादुर रानाभाट, नेकपा एमाले २६ नम्बर वडाका सचिव सूर्यप्रकाश ढुङ्गाना, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका प्रतिनिधिहरूले बोलेका थिए । कार्यक्रममा स्वागत वडा सदस्य तीर्थबहादुर राजभाटले स्वागत र वडा सचिव मिना भट्टराई भण्डारी, कर्मचारी लीलामणि भण्डारी र नवराज सापकोटाले समीक्षा कार्यक्रम र योजना तर्जुमामा सहजीकरण गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button