फेवाफाँटका स्थानीयले पोखरा महानगरमा धर्ना दिएका छन् । फेवाफाँटका स्थानीयहरुले फेवाफाँट संघर्ष समिति नै बनाएर पोखरा महानगरले कोहीलाई काखा र कोहीलाई पाखा गरेको भन्दै महानगरमा नाराबाजी सहित धर्ना दिएका हुन् ।
फेवाफाँटको जग्गालाई पोखरा महानगरपालिकाले आवास र कृषि गरी छुट्याउँदा आवासमा परेका व्यक्तिले प्लटिङ गरेकै कारण कृषियोग्य जग्गा डुबानमा परेको भन्दै महानगरमा ध्यानाकर्षण सहित धर्ना दिएका हुन ।
महानगरले आवास र कृषि गरी जग्गा छुट्याइएकै कारण आवासमा परेकाहरुले धमाधम माटो पुरेर प्लटिङ गरिरहेकाले आफुहरुको जग्गा होचो भागमा परी पानी जमेर खेतीपाती गर्नसमेत गाह्रो परेकै कारण वर्षा अगावै महानगरमा ध्यानाकर्षण गराउन आएको स्थानिय देवीलाल लामिछानेले बताए ।
महानगरको दोहोरो नियमका कारण आफुहरु मर्कामा परेकै कारण महानगरमा धर्ना दिनुपरेको बताउँदै लामिछानेले फेवाताल संरक्षणको नाममा धन्दा चलाउनेहरुले वास्तविक पीडितलाई झनै पीडित बनाएको बताए । लामिछाने आयोग र पुण्य पौडेलको प्रतिवेदन अनुसार आफुहरुको जग्गा फेवातालमा नपर्ने उनको भनाइ रहेको छ ।
लामिछाने जस्तै धर्नामा सहभागी कुलप्रसाद तिमिल्सिनाले महानगरले आवासका नाममा घडेरी बनाउनेलाई काखा र घडेरी बनाउदा पुरेको माटोका कारण डुबानमा परेका जग्गाधनीहरुलाई पाखा लगाउने काम गरेको बताए । फेवाफाँटका जग्गाधनीको लालपुर्जा एउटै भएपनि पछिल्लो समय महानगरले जग्गाको वर्गीकरण गर्दा कसैलाई आवास र कसैको कृषिमा पारेकै कारण आफुहरुको जग्गा होचो भागमा परी वर्षायाममा पोखरी बनेर खेती गर्न सकस परेको छ ।
त्यसो त आफुहरुले आफ्नो जग्गालाई कृषि प्रयोजनको लागी माटोले पुरेर प्लटिङकै बरावर बनाइ खेती गर्न पाउनुपर्ने स्थानीयको माग छ । स्थानीयहरुले युवा व्यवसायी युवराज खतिवडालाई माटो पुर्नका लागी नियमअनुसार काम लगाउँदा उनको डोजर र ट्रिपर नियन्त्रणमा लिनु दुखद भएको स्थानीय निर्मला तिमिल्सिनाले बताइन् । तिमिल्सिनाका अनुसार कृषि प्रयोजनका लागी माटो पुर्दा सवारी साधन नियन्त्रणमा लिनुभन्दा आफुहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न चुनौतीसमेत दिए । नियम लाग्दा माटो पुरेर प्लटिङ गर्नेलाई पनि लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।
धर्ना कार्यक्रममा पुगेका युवा व्यवसायी युवराज खतिवडाले आफूले स्थानीयहरुको माग अनुसार नै महानगरले कृषि भनेर तोकेको क्षेत्रमानै माटो पुरेको बताए । स्थानीयले आफुलाई माटो पुरिदिन आग्रह गरेको र आफुले नियम अनुसार नै माटो पुरेको तर पछिल्लो समय अन्य प्रयोजनको लागी बाटोमा हिँडिरहेको आफ्नो सवारीलाई महानगरले नियन्त्रणमा लिएर अनाहकमा स्टन्टबाजी गरेको खतिवडाको भनाइ रहेको थियो ।
स्थानीयले भने आफूहरुको सुनुवाई नभएसम्म आन्दोलनका कार्यक्रमलाई सशक्त ढंगले अगाडि बढाउने र त्यसको सम्पूर्ण जिम्मा महानगरले लिनुपर्ने अडान राखेका छन् ।