कास्की जिल्ला टेनिस संघले विभिन्न प्रतियोगिताहरुमा पदक जित्न सफल पोखरेली टेनिस खेलाडीहरुलाई सम्मान गरेको छ ।
सिनियर खेलाडी बसन्त प्रधानदेखि जुनियर खेलाडी इभान भट्टराईसम्म एउटै थलोमा सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा नेपाल टेनिस संघका उपाध्यक्ष समेत रहेका टेनिस खेलाडी विनोद कायस्थदेखि कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्ग पनि थिए । यी खेलाडीहरुले देशका विभिन्न स्थानमा भएका विभिन्न प्रतियोगिताहरुमा पदक जितेका थिए । कास्की जिल्ला टेनिस संघले शुक्रबार खेलाडीहरुलाई टेनिस कोर्ट परिसवमै सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीहरुमा चाइनामा हुने एशियन गेम्सका लागि नेपालबाटै छानिएका अभिषेक बाँस्तोला र प्रदीप खड्का पनि थिए । काठमाडौंमा सम्पन्न राइजिङ्ग स्टार टेनिसमा अभिषेक बाँस्तोलाले प्रथम तथा प्रदीप खड्काले द्वितिय स्थान हासिल गरेका थिए । सम्मानित हुने खेलाडीमा टेनिस खेल्ने बाबुछोरा जोडी गोपीबहादुर भट्टराई र श्रृजन भट्टराईलगायत नेहाल जंगबहादुर थापा, आषिश खड्का, अनिल शाहि, सौगात विक, इन्द्र गुरुङ्ग, माधब भण्डारी, शरण गुरुङ्ग, विकास गुरुङ्ग, राजु गुरुङ्ग, धरमबहादुर लामिछाने थिए ।
सम्मानित हुनेमध्येका जुनियर खेलाडी आर्यसराज पौडेलले राइजिङ्ग स्टारमा स्वर्ण तथा रजत पदक जितेका थिए । जिवास भट्टराई र जीवाश्री भट्टराईले पनि कास्कीलाई स्वर्ण दिलाएका थिए । त्यस्तै साल्भी शेरचनले पनि सोही प्रतियोगितामा स्वर्ण दिलाउँदै कास्कीको शिर उचो पारेकी थिइन् । स्पन्दन उदासले नेपालकै प्रतिनिधित्व गर्दै बांग्लादेशमा खेलेर आए । सास्वत बज्राचार्य, दर्शिल श्रेष्ठ, आहान भट्टराई, इलेश गौतमलगायतका खेलाडीहरुले पनि मेडल जित्दै कास्कीको टेनिसलाई गर्व दिलाउने खालको उपलब्धि हासिल गरेका थिए ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्मा, खेलकुद विकास समिति गण्डकीका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्लाका डिवी नेपाली लगायतले सम्मानित गरेका थिए । उनीहरुले कास्की टेनिसले एक पछि अर्को ठूलो उपलब्धि हासिल गर्दै गएको भन्दै बधाई ज्ञापन गरे । नेपाल टेसिन संघका उपाध्यक्ष विनोद कायस्थले पोखराको पुरानो पर्स्याङ टेनिस कोर्टको स्मरण गर्दै कास्कीमा टेनिस विकासको एउटा सपना सहित आफुले त्यो कोर्ट निर्माण गरेको सुनाए । अहिले आएर दुई दशकपछि त्यो सपना पुरा हुँदै गएकोमा उनले खुसि व्यक्त गरे ।