समाचार

सहरी योजना आयोग पोखराका पदाधिकारीले लिए सपथ

सहरी योजना आयोग पोखराका उपाध्यक्षसहित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आयोगका उपाध्यक्ष पूर्व प्रशासक प्रेमलाल लामिछाने सहित चार जना सदस्यहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पद तथा गोपनीयताको शपथ गराएका हुन् । आयोगको सदस्यहरूमा जय प्रसाद सापकोटा, सुरेन्द्रबाबु तिवारी, मन्दिरा पराजुली र होमनाथ गैरे रहेका छन् ।

शपथ ग्रहणसँगै आयोगका उपाध्यक्ष लामिछाने सहित सदस्यहरूले पोखराको समग्र विकासका लागि आफ्नो सीप, क्षमता, दक्षता र अनुभवको अधिकतम उपयोग गर्ने बताए । पोखराको आर्थिक, भौतिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र मानव संसाधन लगायत समग्र विषयहरूको समुचित विकासका लागि उपयुक्त योजना निर्माणका लागि आयोगले प्रतिविद्धताका साथ काम गर्ने उनको भनाई थियो ।

सो क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ’समुन्नत पोखरा’ निर्माण गर्ने लक्ष्यका साथ यसअघि थालिएका असल अभ्यासहरूलाई अनुसरण गर्दै “समुन्नत पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार” भन्ने नारालाई सार्थकता प्रदान गर्ने कार्यमा आयोगको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

आचार्यले पोखरा महानगरपालिका भित्रको भूगोलको समावेशी विकासका लागि उपयुक्त खाका कोर्ने कार्यमा आयोग क्रियाशील रहने पनि विश्वास व्यक्त गरे । आयोगको कार्यालय तालचोकस्थित साबिकको लेखनाथ नगरपालिका कार्यालय रहेको भवनमा रहनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button