असार १५ को अवसरमा भोलि कास्कीको हेम्जामा हिले महोत्सव हुँदैछ । तेस्रो संस्करणको यस महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आयोजक देवीस्थान सेवा समाजका अनुसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ र भोली बिहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिनेछ । महोत्सव स्थानीय रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको करिव ७ रोपनी खेतमा महोत्सव हुन लागेको हो । ‘कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका माई मन्दिर हेमजाको शान’ भन्ने नाराका साथ हुन लागेको उक्त महोत्सवमा विभिन्न रोच गतिविधि हुने आयोजकले जनाएको छ ।
महोत्सवमा उत्कृष्ट किसान सम्मान लगायत हिलोमा फुटबल, महिला पुरुष हिले दौड, रसि तान्ने, घैटो फुटाउने, धान रोप्ने, हल गोरु तथा जोडी दौड, हिले नाँच, माछा तथा भाले समाउने, असारे गीत, झाँकीलगायतका प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाइएको छ।
कृषकलाई किसान हुनुमा गर्व तथा हर्ष दिलाउँदै युवा पुस्तालाई कृषितर्फ आकर्षण बढाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो । महोत्सवसँगै हेम्जालगायत विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढ्ने अपेक्षा पनि गरिएको छ।