आज असार १५ अर्थात दही चिउरा खाने दिन । असारको मध्य अर्थात देशका धेरै स्थानमा रोपाइँ शुरु भइसकेको छ । यसै सन्दर्भमा आजको दिनलाई रोपाइँ तथा धान दिवसका रुपमा पनि मनाउने गरिएको छ ।
मनसुनी वायु विगतमा भन्दा केही ढिला नेपाल प्रवेश गरेका कारण यसपटक असार १५ सम्म देशका धेरै स्थानमा रोपाइँले बल्ल गति लिन थालेको छ । सुदूरपश्चिमका कतिपय जिल्लामा बल्ल मनसुनी बादलले वर्षा गराउन थालेको छ । पूर्वमा भने अघिल्लो साता भारी वर्षाका कारण बाढी पहिरोको शृङ्खला नै चलेको थियो । यसअर्थमा देशको पश्चिमी भूभागको तुलनामा पूर्वमा धेरै स्थानमा रोपाइँ भइसकेको छ ।
वर्षभरिका लागि देशको मुख्य खाद्यान्न चामल उत्पादनका लागि असारमा नै धान रोप्ने गरिन्छ । पर्म आउनेजाने गर्दा यो महिना भरिनै किसानहरु खेतीपातीमा व्यस्त रहन्छन् । यसै व्यस्तताको बीच महिनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिएको छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
नेपालमा धान दिवस भएर असार १५ मनाउन थालिएको भने वि.स २०६२ को असार देखि हो । त्यसयता निरन्तर मनाइँदै आएको यो पर्व नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।