चार वेद अठार पुराणका रचयिता वेद व्यासको अवतरण दिवसका अवसरमा आज व्यास जयन्ती मनाइँदैछ । आषाढ शुक्ल पूर्णिमामा दिन वेद व्यासको जन्म भएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए । पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए ।
व्यास दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । पाँच हजार ५०० वर्ष अगाडि महर्षि व्यासको दमौली क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) बन्द रहने छन् ।