एसईई पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले एक सूचना जारी गर्दै ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थी र अनुपस्थित रहेका परीक्षार्थीले बढीमा दुई विषयसम्म परीक्षा दिन पाउनेछन् । परीक्षा रद्द भएका परीक्षार्थीले भने ग्रेडवृद्धि परीक्षा दिन पाउनेछैनन् ।
तालिका अनुसार अनिवार्य अङ्ग्रेजी र एक विषयको परीक्षा दिने सबै विद्यार्थीको परीक्षा २६ गते हुनेछ । यसै गरि दुई विषय दिने विद्यार्थीका हकमा सानो कोड नम्बर भएको विषयको पहिलो दिन परीक्षा हुनेछ । दुई विषयको परीक्षा दिने विद्यार्थीमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा दोस्रो दिन अर्थात २७ गते हुनेछ ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा सामेल हुने विद्यार्थीले सम्बन्धित विद्यालयमार्फत फारम भरेर साउन २१ गतेभित्र शिक्षा विकास तथा समन्वय इकाइमा पेस गर्नुपर्नेछ ।