कास्कीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
कास्कीको रूपा गाउँपालिका-३ पोल्याङमा सोमबार बिहान करिब पौने आठ बजे ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई बेगनासबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २३ वर्षीय विवेक विकको मृत्यु भएको हो । लमजुङको मध्यनेपाल गाउँपालिका-६ भोर्लेटार घर भएका विकको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
घटनामा विकका भाइ नाताका २० वर्षीय दीपेन्द्र विक गम्भीर घाइते भएको कास्की प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए । उनको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । विपरीत दिशाबाट आइरहेको बस र मोटरसाइकल घुम्ती र ओरालो स्थानमा ठक्कर खाएका हुन् ।
प्रहरीले बस चालक रूपा गाउँपालिका- ०१ घर भएका विशाल गुरूङलाई नियन्त्रणमा लिएको जनाएको छ ।