समाचार

साउने सोमबारका दिन पोखराको हरिहर मन्दिरमा जल चढाउनेको भिड

ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र पोखरा- १७ महतगौडास्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र गौमुखे जलधारा निर्माण गरिएको छ ।

आज साउने संक्रान्ति र सोमबार हिन्दु धर्मावलम्वी भक्तजनले १०८ गौमुखे जलधारामा स्नान गरि शिवलिङ्गमा सेतीनदीवाट ल्याएको जलसहित गाईको दुध र वेलपत्र चढाउन बिहानैदेखि भिड लागेको थियो । प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झल्को दिने गरि ४२ लाख ५० हजारको लागतमा निर्माण सम्पन्न गरिएको शिवलिङ्ग र जलधाराको पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले आज एक कार्यकक्रमका बीच उद्घाटन गरेकी थिइन् ।

पोखराको पौराणीक एवम् ऐतिहासिक मन्दिर सदाशिव सिद्धेश्वर हरिहर रहेको स्मरण गर्दे उनले प्राकृतिक पुल, चौतारीमा अवस्थित सीताको पाईला,रामजानकी मन्दिर, पोखरा वृद्धाश्रम लगायतका यस स्थानका धार्मिक एवम् प्राकृतिक सम्पदानको प्रचार प्रसारको माध्यमबाट आन्तरिक एवम् बाह्य पर्यटक प्रबर्द्धनमा जोड दिनु पर्ने आवश्यकता औल्याइन् । यस क्षेत्रको समग्र विकास निर्माणमा तीनै तहका सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिंदै वडाअध्यक्ष योगीले धार्मिक क्षेत्रको विकासमा वडास्तरबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारी शर्माका अनुसार पैसा नभईकन शुरु गरिएको शिवलिङ्ग र जलधारा निर्माणमा सहयोगदाताको सहयोग पाउँदा त आँट म पुर्याउँदछु भन्ने उक्ति चरितार्थ भएको बताए । व्यवस्थापन समितिको निर्णय अनुसार पितृ उद्धारका निम्ति एक जोडि शिवलिङ्ग र धारा निर्माणका लागि १५ हजार रुपैयाका दरले आर्थिक संकलन गरिएको बताउँदै उनले सवैको साथ र सहयोगबाट मन्दिर सौन्दर्यकरणमा सहयोग पुगेको बताए ।

सो क्षेत्रमा शिवलिङ्ग र जलधारासहित प्रवेशद्धार, हनुमान मूर्ति, पानी बोरिङ लगायतका ३५ योजनाका लागि ९८ लाख रुपैया भन्दा बढी खर्च भएको कोषाध्यक्ष इसारा थापाले कार्यक्रममा जानकारी दिइन् । मन्दिर परिसरमा विविध भौतिक संरचना निर्माणमा सहयोग गर्ने दातालाई सम्मान पत्रले सम्मान गरिएको कार्यक्रममा समितिका सचिव हरिहर भण्डारी, प्राविधिक विनोद भण्डारी, सञ्चालक कमल पुन लगायतले साउने संक्रान्ति सोमवार र आजै परेको औंसीको महत्व माथि प्रकाश पारेका थिए ।

आज बिहानै भक्तजनहरुले सेतीनदीस्थित सिताघाटमा स्नान गरि विभिन्न आमा समुह, मन्दिर व्यवस्थापन समिति, जनप्रतिनिधि सहितको कलस यात्रा मन्दिर परिसरमा पुगेर शिवलिङ्गमा जल, दुध र वेलपत्र अर्पण गरि कार्यक्रममा सहभागी भएको थिए । विक्रम सम्वत १८६४ सालमा तत्कालिन कास्कीकोटका राजा कुलमण्डल शाहले सिताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन पाएपछि सो स्थानको धार्मिक महत्व बुझेर मन्दिर निर्माण गरिएको शिलालेखमा उल्लेख छ ।

सोही अवधिमा मन्दिरको नित्यपुजाको लागि पोखरा १७ पार्दी विरौटामा २९ रोपनी १२ आना गुठी जग्गाको समेत व्यवस्था गरिएको लालमोहोरमा उल्लेख छ । जग्गाको व्यवस्था मन्दिर समितिले गर्दै आएको सचिव हरिहर भण्डारीले जानकारी दिए ।

साउनको पहिलो सोमबार आज बिहानैदेखि सेतीनदीस्थित रामघाट, तुल्सिघाट, सिताघाट लगायका स्थानबाट कलसयात्राका सहभागी भक्तजनले ल्याएको जल पोखराका केदारेश्वर, ओमकारेश्वर, गुप्तेश्वर महादेवलगायतका शिवालयहरुमा चढाउनेको भिड देखिन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button