पोखरा महानगरपालिका वडा नं २८ मा माझठाना कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन गरिएको छ । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नु भएको हो । वडा नं २८ र वडा स्तरीय कृषि सञ्जालको समन्वयमा केन्द्र सञ्चालन गरिएको हो ।
कृषि उपजको आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भर बनाउनका लागि उत्पादन वृद्धि आवश्यक रहेको प्रमुख आचार्यले बताउनुभयो । महानगरका ग्रामीण क्षेत्रहरू उत्पादनका हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भएकाले स्वस्थ उत्पादनमा उहाँले जोड दिनुभयो । महानगरपालिका कृषकहरूको साथमा रहेको उहाँले विश्वास समेत दिलाउनुभयो ।
पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यस क्षेत्रमा भइरहेको उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कृषकहरूलाई उत्पादनसँग जोडिन उहाँले आह्वान समेत गर्नुभयो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कृषि उपजको बजार सुनिश्चितता सहित उपभोक्ताहरूलाई स्वस्थ तरकारी खुवाउने आफूहरूको लक्ष्य रहेको बताउनुभयो । सङ्कलन केन्द्रहरूको प्रभावकारिता ती केन्द्रहरू मार्फत बजारमा पुग्ने स्वस्थ उत्पादनसँग जोडिने उहाँले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा सङ्कलन भएको कृषि उपज महानगरद्वारा सञ्चालित कृषि एम्बुलेन्स मार्फत बजार पुर्याउने व्यवस्था मिलाइनेछ । सो क्रममा कृषि औजार समेत प्रदान गरिएको छ ।
हाल पोखरा महानगरपालिकामा १५ स्थानमा कृषि सङ्कलन केन्द्र सञ्चालनमा रहेका छन् भने ५ वटा कृषि बजारहरू महानगरपालिकाको तर्फबाट सञ्चालनमा रहेका छन् ।