पोखरा । बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन ।
खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघ (फेडवासन) को २२ औं स्थापना दिवसको अवसरमा चितवनमा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो । उनले टेलिभिजन विधामा सो पुरस्कार प्राप्त गरेका हुन ।
अघिल्लो आर्थिक वर्षभरिमा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा प्रकाशन प्रसारण भएका समाचारमध्येबाट फेडवासनले चार जना सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।
राजभण्डारीका अलावा अखबारतर्फ चितवन पोष्टका होमनाथ सापकोटा, अनलाइनतर्फ उकेरा अनलाइनका जगतदल जनाला बि.क. र रेडियोतर्फ रेडियो परासीका मोघनाथ गौतम सम्मानित भएका हुन् ।
सम्मानित पत्रकारहरुलाई संघीय खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।