गण्डकीदेश/समाजसमाचार

गण्डकी प्रदेशका प्रमुख सचिव बस्नेत सम्मानित

पोखरा । पोखरास्थित रेडियो जननीले गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी बस्नेतलाई सम्मान गरेको छ ।

रेडियोले तीजको छेको पारेर प्रदेशको विकास र महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रमुख सचिव बस्नेतलाई सम्मान गरेको हो । ‘तीज संवादः उद्यमीका आवाज’ कार्यक्रमअन्तर्गत रेडियोका संस्थापक अध्यक्ष हीरा भट्टराईलगायतले बस्नेतलाई सम्मान गरेकी हुन् ।

कार्यक्रममा सम्मानित व्यक्तित्व एवं गण्डकी प्रदेशका प्रमुख सचिव बस्नेतले पछिल्लो समय हरेक तह र तप्कामा महिलाको गर्विलो उपस्थिति हुँदै गएको दावी गर्दै अझै पनि महिलामाथिको विभेद भने हट्न नसकेको बताइन् ।

उनले महिला उद्यमीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेकाले महिला दिदिबहिनीलाई उद्यमशील बन्न प्रेरित गरिन् । रेडियोले तीज पर्वलाई उद्यमशिलता र सशक्तीकरणसँग जोड्दै आयोजित संवाद कार्यक्रम निकै सह्रानीय भएको उनले बताइन् ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वसदस्य तथा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. शान्ता खत्रीले तीज पर्वको ऐतिहासिकता, यसको बदलिँदो स्वरूप र आधुनिक समयमा महिलाको भूमिकाबारे आफ्नो चर्चा गरिन् ।

उनले तीज पर्वलाई परम्परा र आधुनिकताको संयोजनको रूपमा व्याख्या गर्दै महिलाले यसलाई सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा मनखुसी मल्टिपर्पोज प्रालिका सञ्चालक काशी गुरुङ, सन्तोषीमाता हस्तकला उद्योग सञ्चालक पम्फा थापा, रक्षा चापागाँई स्टोर्सका संचालक रजनी चापागाँइले उद्यमशीलता क्षेत्रमा भोगेका चुनौती, सफलताका सूत्र र भविष्यका योजनाको बारेमा आआफ्नो भनाइ राखेका थिए ।

रेडियोकी संस्थापक अध्यक्ष भट्टराईले तीजलाई उद्यमशीलतासँग जोड्न उद्यमीका आवाज कार्यक्रमको आयोजना गरिएको बताइन् ।

उनले महिला उद्यमशीलता आजको आवश्यता भएको जनाउँदै उद्यमी महिलाबाट नै समृद्ध देशको परिकल्पना गर्न सकिने जिकिर गरिन् ।

कार्यक्रममा सहजीकरण गर्दै नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक जमुना वर्षा शर्माले महिला उद्यमशीलता र सशक्तीकरणको क्षेत्रमा नयाँ दृष्टिकोण प्रस्तुत गरेको बताइन् । उनले कार्यक्रमले महिला उद्यमीका आवाज बुलन्द गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको दावी गरिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button