गण्डकीदेश/समाजमुख्य खबरसमाचार

पोखराको बाराहीघाटमा तीज सांस्कृतिक महोत्सव

पोखरा । पोखरामा तीज सांस्कृतिक महोत्सव हुने भएको छ । भदौ २१ र २२ गते लेकसाइडको बाराहीघाटमा महोत्सव हुने आयोजक पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले जनाएको छ ।

‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महान् पर्व हरितालिका तीज अवसरमा टेवानले महोत्सव आयोजना गरेको हो ।

टेवान अध्यक्ष कमला गिरीका अनुसार नेपालको संस्कार, संस्कृति, कला, धर्मलाई पर्यटनसँग जोड्न महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुदका कार्यक्रम, बहसलगायत हुनेछन् ।

महोत्सवको पहिलो दिन तीज पर्व नै भएकाले बिहान १० बजे बाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको र्याली हुनेछ ।

वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा बिहान ११ बजे औपचारिक उद्घाटन तथा सांस्कृतिक कार्यक्रम एवं तीज गीत प्रतियोगिता सुरु हुने छ ।

दोस्रो दिन बिहानैदेखि खेलकुदका कार्यक्रम हुने छन् । त्यसपछि तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा प्यानल डिस्कसन हुनेछ ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राप्रपा नेतृ खुश्वु ओली र डा.राजुराज अधिकारी वक्ता रहने छन् । सहजीकरण पत्रकार दुर्गा अधिकारीले गर्नेछन् ।

कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले तीज गीत प्रतियोगिताका लागि हालसम्म १६ टिमले दर्ता गरिसकेको र महोत्सव सुरु हुँदासम्म करिब ३० टिम पुग्न सक्ने बताइन् ।

प्रतियोगीले पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा गीत प्रस्तुत गर्नुपर्ने छ । प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार सान्त्वना १० टिमलाई पाँच/पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । एउटा टिममा बढीमा सात जना कलाकार हुनुपर्ने छ । गीत सात मिनेटमै गाएर सक्नुपर्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button