गण्डकीदेश/समाजसमाचार

देशभरका शिवालयमा पूजा एवं दर्शन गर्नेको भीड

पोखरा । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पोखरास्थित केदारेश्वर महादेवमणि मन्दिर, पुम्दीकोट, विन्ध्यवासिनी, गुप्तेश्वरलगायतका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साथै काठमाडौँको पशुपतिनाथ, लमजुङको करापुटारस्थित इशानेश्वर, म्याग्दीको गलेश्वर, मुस्ताङको मुक्तिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

प्रत्येक मन्दिरमा विभिन्न पहिरनमा सजिएका महिला भक्तजनको भीड देखिन्छ । बिहान केही समय वर्षाले दर्शनार्थी प्रभावित भए पनि पछि सहज भएको छ ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा रहुन्जेल खुला गरिने जनाइएको छ ।

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चारवटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ ।

कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउने गरी सबै व्यवस्था गरेको जनाएको छ । बर्तालुको भीडलाई ध्यान दिँदै कोषले आज विशेष पूजाका लागि रसिद काटेको छैन ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्नेगरी व्यवस्था मिलाइएको छ । बर्तालु जुन ढोकाबाट भित्र प्रवेश गर्छन् त्यसै ढोकाबाट बाहिर निस्कने गरेका छन् । भक्तजनका लागि योसहित चारवटा लामको व्यवस्था गरिएको छ ।

महिलाले श्रीमान्को दीर्घायुको कामना पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन छ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्रशुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button