गण्डकीदेश/समाजप्रदेशसमाचार

टान गण्डकीद्वारा ‘भ्यू फेवा, राउण्ड फेवा’ हाइकिङ पदमार्ग सरसफाई

पोखरा । ट्रेकिङ एजेन्सिज् अफ नेपाल (टान) गण्डकीले ‘भ्यू फेवा, राउण्ड फेवा’ हाइकिङ पदमार्ग सरसफाई गरेको छ । ‘भ्यू फेवा, राउण्ड फेवा’ पदमार्गको दिगो प्रवर्द्धनका लागि टानले शनिबार सरसफाई गरेको अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

उक्त अवसरमा पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले ‘भ्यू फेवा, राउण्ड फेवा’ पदमार्ग तयार भएर अघि बढ्न नसकिरहेको अवस्थामा त्यसको स्तरोन्नति र साइट अफ भ्यू वृद्धिका लागि टानले सरसफाई कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे ।

उनले टान गण्डकीले नयाँ प्रोडक्टको रूपमा पदमार्गको पहिचान गरी प्रदेश, स्थानीय सरकार र पर्यटन व्यवसायी भएर पोखरामा पर्यटकको ‘लेन्थ अफ स्टे’ बढाउन अहम् भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सरसफाइसँगै ‘भ्यू फेवा राउण्ड फेवा’ पदमार्गले पोखराको दक्षिणी भेगबाट अन्नपूर्ण हिमशृङ्खला राम्रोसँग देखिने सक्ने अवस्था सिर्जना गरेको भुजेलले दावी गरे ।

टान गण्डकी अध्यक्ष आचार्यले ट्रेकिङ क्षेत्रमा लागेका व्यवसायीले पदमार्गको संरक्षण गरी व्यवसायसँग जोड्न प्रयास गरिएको बताए ।

पदयात्रामा जान लागेका पर्यटकलाई यस ठाउँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको राम्रो दृश्य देखिने भएकाले एक दिन भए पनि पर्यटकको लेन्थ अफ स्टे बढाउन टानले प्रयास गरेको उनले स्पष्ट पारे ।

गण्डकी प्रदेश सरकारले पोखरा पर्यटकीय राजधानी घोषणा गर्दा पदयात्राका नयाँ मार्ग र यस्ता प्रोडक्ट संरक्षण गरेर अगाडि बढाउनुपर्छ भन्ने कुरामा जोड दिइएकोले टानले त्यसलाई आत्मसात गरेको अध्यक्ष आचार्यले बताए ।

पोखरा-२२ का वडाध्यक्ष हिमलाल बरालले ‘भ्यू फेवा राउण्ड फेवा’ सर्किट निर्माणदेखि लिएर हरेक काममा टान गण्डकीले साथ र समर्थन दिएको बताए । उनले भ्यू फेवा राउण्ड फेवा रुटमा वडाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको जनाए ।

पोखरा पर्यटन परिषद् र पोखरा-२२ को सहकार्यमा भएको कार्यक्रममा पर्यटन मन्त्रालय पोखरा, नेपाल पर्यटन बोर्ड पोखरा र पोखरा पर्यटनसित आवद्ध विभिन्न संघ-संस्था, पर्यटन प्रहरी पोखरा, स्थानीय क्लब, लायन्स क्लब अफ लेकसाइड र लायन्स क्लब अफ पोखरा गार्डेनका प्रतिनिधिका साथै स्थानीय आमा समूह एवं तालपारी मार्गीका स्थानीय सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button