गण्डकीदेश/समाजमुख्य खबरसमाचार

पोखरामा सहकारी पीडित र रास्वपाका कार्यकर्ता आमनेसामने

पोखरा । पोखरामा सूर्यदर्शन सहकारी पीडितले गरेको आन्दोलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् । कास्की जिल्ला प्रशासन कार्यालय अगाडि दुवै पक्षले पक्ष र विपक्षमा नाराबाजी गरेका हुन् ।

सहकारी पीडितले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दैै प्रदर्शन गरे भने रास्वपाका कार्यकर्ताले रविलाई षडयन्त्र गरेर फसाउन खोजिएको भन्दै सरकारको बिरोधमा प्रदर्शन गरे ।

प्रशासन कार्यालय अगाडिको एक छेउमा सहकारी पीडित र अर्को छेउ (शहीद चोक) मा रास्वपाका कार्यकर्ताले नाराबाजी गरिरहँदा बीचमा सुरक्षाकर्मी तैनाथ थिए ।

सहकारी पीडितले ‘सहकारी ठग मुर्दाबाद’, ‘पीडितलाई न्याय दे’, ‘अपराधीलाई कार्वाही गर’, ‘रवि लामिछानेलाई पक्राउ गर’ जस्ता नारा लगाएका थिए भने रास्वपाका कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फासिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् ।

साथै सरकारले सभापति रविलाई फँसाउन खोजेको भन्दै उनीहरुले त्यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका पूर्वडीआइजी छविलाल जोशीलाई पक्राउ गरेर पोखरा ल्याइएको छ । कास्की प्रहरीले उनलाई आज अदालत पेस गर्दैछ ।

प्रहरीले जोशी विदेश जान लागेको सूचना पाएपछि पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको जनाएको छ । जोशी पक्राउ परेसँगै रवि लामिछाने पनि पक्राउ पर्ने आकलन भइरहँदा रास्वपाका कार्यकर्ता आन्दोलित बनेका हुन् ।

सभापति लामिछानेले गएराति पार्टी कार्यालयबाटै आफूलाई जतिबेला पनि पक्राउ गर्न सक्ने भन्दै अर्लट भएर बस्न र प्रतिवाद गर्न देशभरका कार्यकर्तालाई निर्देशन दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button