गण्डकीदेश/समाजसमाचार

पोखराको महेन्द्रपुलमा फल्चा र पार्क

पोखरा । पोखरा महानगरपालिकाले महेन्द्रपुल क्षेत्रमा निर्माण गरिएको ऐतिहासिक महत्त्वको फल्चा र पार्क सर्वसाधारणका लागि खुला गरेको छ ।

महानगरपालिकाले आयोजना गरेको झण्डोत्तोलन कार्यक्रमपश्चात् पोखरा महानगरका प्रमुख धनराज आचार्यले फल्चा र पार्कको उद्घाटन गरेका थिए ।

यस निर्माणसँगै महेन्द्रपुलमा पत्रिका कर्नर, संयुक्त राष्ट्रसंघका एक सय ९३ सदस्य राष्ट्रको झण्डासहितको अन्तर्राष्ट्रिय झण्डा पार्क, अत्याधुनिक शौचालय, क्याफे, सुन्दर पार्क र सांस्कृतिक महत्त्व राख्ने फल्चा निर्माण सम्पन्न भएको छ ।

महानगर प्रमुख आचार्यले फल्चा र पार्कले महेन्द्रपुल क्षेत्रको सौन्दर्यलाई वृद्धि गर्नुका साथै पर्यटकीय आकर्षण थपिने विश्वास व्यक्त गरे ।

उनका अनुसार यो विकासले सर्वसाधारणलाई पनि सहज बनाउने र सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याउनेछ ।

पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आफ्नो वडामा भएका अन्य विकास परियोजनाको चर्चा गर्दै फल्चा निर्माणले स्थानीय समुदायको पहिचान र सांस्कृतिक धरोहरलाई सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

महानगरपालिकाको यो दीर्घकालीन विकास योजनाअन्तर्गत सार्वजनिक स्थानको संरक्षण, सौन्दर्यीकरण र सर्वसाधारणको सहजतामा केन्द्रित रहेका यस्ता परियोजनाले पोखराको पहिचानलाई थप उजागर गर्न मद्दत गर्ने उनले बताए ।

पोखरा-१५ का अध्यक्ष तोरण बानियाँले स्थानीय जनताको आवश्यकतालाई सम्बोधन गर्दै हरियालीयुक्त खुला स्थानको उपलब्धता यस परियोजनाको मुख्य उपलब्धि भएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button