पोखरा । श्रीलङ्काको प्रधानमन्त्रीमा हरिनी अमरसुरिया नियुक्त भएकी छन् ।
नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकले अमरसुरियालाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । योसँगै श्रीलङ्कामा तेस्रो पटक महिला प्रधानमन्त्री चयन भएको हो ।
चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित भएकी अमरसुरिया लैङ्गिक समानता र अल्पसङ्ख्यक अधिकारका मुद्दामा सक्रिय भूमिका खेल्दै आएकी थिइन् ।
५४ वर्षीया अमरसुरिया तत्कालका लागि न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त भएको बीबीसीले जनाएको छ ।
श्रीलङ्काको दुई सय २५ सदस्यीय संसदमा अहिले दिसानायकको पार्टी नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनको तर्फबाट जम्मा तीन सांसद छन् ।
उनी र बाँकी दुई जेभीपीका सांसदले मन्त्रीकाे जिम्मेवारी बहन गर्ने र संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा काम गर्ने बीबीसीले जनाएको छ ।