खेलकुददेश/समाजसमाचार

उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार

पोखरा । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप फुटबल छनोटको आफ्नो तेस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग ६-० को लज्जास्पद हार बेहोरेको छ ।

आज सम्पन्न खेलको २० मिनेटमा नै नेपालले सविन घिमिरेलाई गुमाउँदै १० खेलाडीमा सीमित भएको थियो । बल रोक्ने क्रममा बल हातले छोइएपछि उनले सिधै रातो कार्ड सामना गरेका थिए ।

त्यसमा उज्वेकिस्तानले पेनाल्टी पाएको थियो । तर उरिनबोएभको पेनाल्टी प्रहार नेपालका गोलकिपर जियरात शेखले बचाएका थिए । तर साइदुमार्खोन साइदनुरल्लायभले २४औं र २७औं मिनेटमा लगातार गोल गर्दै उज्वेकिस्तानलाई २-० को अग्रता दिलाए ।

२९औं मसनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३-० को अग्रता बनायो । नेपालले रक्षात्मक खेल्दै उज्वेकिस्तानलाई रोक्ने प्रयास गरे पनि दोस्रो हाफमा थप तीन गोल व्यहोर्यो ।

उज्वेकिस्तानका लागि मिर्जाएभले ६७औं, मेयिरबेक रेजाबालिएभले ८७औं र अब्दुगाफुर हेदारोभले ९०औं मिनेटमा गोल गर्दै फराकिलो जित दिलाए ।

समूह बीमा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा कम्बोडियासँग ४-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको थियो ।

तीन खेल खेलिसकेको नेपालको एक जित र दुई हारबाट तीन अंक मात्र छ । एएफसी यु-२० एसियन कपको साविक विजेतासमेत रहेको उज्वेकिस्तानको भने यो लगातार दोस्रो जित हो । उज्वेकिस्तानले पहिलो खेलमा कम्बोडियालाई ७-० ले पराजित गरेको थियो ।

लगातार दुई खेल जितेको उज्वेकिस्तान छ अंकसहित शीर्ष स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार बहराइनको सामना गर्नेछ ।

एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर यु-२० एसिया कपको छनोट प्रतियोगिता खेलाइएको छ । हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यु-२० एसियन कपका लागि सिधै छनोट हुनेछन् ।

यस्तै उपविजेतामध्ये उत्कृष्ट पाँच टोलीले पनि एएफसी यु-२० एसिया कपमा स्थान बनाउनेछन् । चीन आयोजकको रुपमा सिधै छनोट भइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button