गण्डकीदेश/समाजसमाचार

पोखराको फेवाताल किनारमा मिनी सडक महोत्सव

पोखरा । नेपालको पर्यटकीय राजधानी पोखरामा मिनी सडक महोत्सवको हुने भएको छ । विश्व पर्यटन दिवसका अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले शुक्रबार साँझ फेवाताल किनार अम्बोटदेखि बाराही चोकसम्म एक दिने सडक महोत्सव गर्न लागेको हो ।

महोत्सवमा बाजा गाजासहित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने महोत्सवका संयोजकसमेत रहेका रेवानका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए ।

‘सडक मै खाउँ, सडक मै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको उनले बताए ।

रेवान अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ यहाँका विभिन्न जातीय संस्कृति, भेषभुषा, सांस्कृतिक नृत्य, पर्यटकीय ठाउँको दृश्यावलोकन, वृत्तचित्र तथा स्वदेशी र विदेशी खानाका परिकार प्रस्तुत गरिने बताए ।

पर्यटन दिवसका सन्दर्भमा पोखराका विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

जसमा पोखरा महानगरपालिका वडा नं.१७ रातोपहिरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउँदैछ ।

संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।

शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् ।

पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान साढे ८ देखि साँझ साढे ५ बजेसम्म खुला हुन्छ ।

पर्यटन दिवसकै सन्दर्भमा संग्रहालयले शनिबार ऐतिहासिक फोटो प्रदर्शनी र पुस्तकसमेत सार्वजनिक गर्देछ । रसियाली लेखक एवं पर्वतारोही युरी रोदिचेभले संकलन गरेका ४० फोटा शनिबार प्रदर्शनीमा राखिने न्यौपानेले जानकारी दिइन् ।

यता, युएनडब्लुटिओले यस वर्षको ४५औँ पर्यटन दिवसको नारा टुरिजम एण्ड पिस (पर्यटन र शान्ति) तय गरेको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा विविध कार्यक्रम हुने भएको छ ।

परिषद् आयोजनामा ९-१२ असोजसम्म विभिन्न कार्यक्रम हुने परिषद् अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । उनका अनुसार दिवस अवसरमा नीति संवाद, घरबास कार्यक्रम, पदयात्रा, र्याली, रक्तदान, टक सो, पर्यटकलाई सम्मान, पर्वतीय दौड प्रतियोगिता हुँदैछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button