
पोखरा । समाजशास्त्री तथा विश्लेषक विश्व सिग्देलले पोखराका सञ्चारमाध्यम पोखराको प्राकृतिक ध्वस्तिकरण प्रति सञ्चारमाध्यम मूकदर्शक बनेको आरोप लगाएका छन् । उनले सञ्चारमाध्यमहरू पोखराको प्राकृतिक वैभव, मूल्य र महत्त्वमाथि कहिल्यै संवेदनशील र मुखर नदेखिएको समेत बताएका छन् ।
‘पोखराका सञ्चारमाध्यमहरू पोखराको प्राकृतिक वैभव मूल्य र महत्त्वमाथि कहिल्यै संवेदनशील र मुखर देखिएनन् । यसको ध्वस्तिकरण प्रति कति मूकदर्शक भएर बसे भने कति त उल्टो जोगाउन पर्छ भन्नेहरूका विरुद्ध मुख छाडन थाले,’ उनले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्, जनस्तरबाट व्यापक विरोध भएपछि बल्ल पछि पछि सुस्त सुस्त मुख खोल्न थालेका छन् । जबकि मिडियाले त यस्तो संरक्षण अभियानको नेतृत्व गर्नु पर्थ्यो,जनतालाई जागृत गर्नु पर्थ्यो ।’
सिग्देलले जनताबाट मिडियामाथि पनि प्रश्न उठाउने काम नहोस् भन्दै खबरदारी समेत गरेका छन् । यद्यपि उनले ढिलै भए पनि पत्रकारिताको धर्म निर्बहन हुन थालेको पनि भनेका छन् ।
पोखरामा कोटीहोम संचालनका लागि भन्दै मानव सेवा फाउण्डेसनले समिदाका लागि संरक्षण गरिएका सडक छेउका वर्षौँ पुराना र ऐतिहासिक चौताराका वरपीपल लगायत रुख बिरुवाहरू गैर कानुनी रूपमा कटान गरेको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन् ।
रुख कटानबाट पोखराको सुन्दरतामा क्षति पुर्याएको, जैविक विविधता र पर्यावरणमा क्षति गरेको, सामाजिक मूल्य मान्यता माथि प्रहार भएको तथा इतिहास मास्ने समेत कार्य भएको सिग्देलको भनाई छ ।
‘हाँगा छिमले पलाउला, यसरी मडुल्याए पछि पलाउने ठाउँ रह्यो ? तर पुण्यका प्राधिकार लिनेहरू फेरी उस्तै हुन्छ पनि भन्न थालेका छन् । पोखरामा जिल्ला बन, प्रदेश बन, बन मन्त्रालय,बनक्याम्पस समेत छन्, उनीहरू भनुन् यो फेरी पुनर्जीवित हुनसक्छ ? यो दुर्दशाबारे बोल्न किन सक्दैनन्, यो उनीहरूको कर्तव्य भित्र पर्दैन?,’ उनले प्रश्न गरेका छन् ।
चौताराका रुखहरूले चराहरूलाई आश्रय र आहार, बटुवाहरूलाई धूप र बर्सादमा ओत, वरिष्ठ नागरिकहरूलाई समय बियाँल्ने चौतारी, बच्चाहरूलाई घर्केउली बनाई खेल्ने ठाउँ, तन्नेरीहरूलाई चौतारीको छपनी कोरेर बाग गोट्टी खेल्ने ठाउँ, पोखरेलीलाई हरियाली र प्राण बायु दिएको भन्दै सिग्देलले कुन घर र सम्पत्ति, बिजुला र टेलिफोनका तारलाई जोखिममा पारेको थियो भन्दै प्रश्न उब्जाएका छन् ।