गण्डकीसमाचार

चितवनको रत्ननगर बसपार्क सञ्चालनमा

चितवन । चितवनको रत्ननगरमा बसपार्क सञ्चालनमा आएको छ । रत्ननगर नगरपालिकाले वडा नं २ अन्तर्गत सौराहाचोक र टाँडी बजारको बीचमा निर्माण गरेको रत्ननगर बसपार्कको सोमबार औपचारिक उद्घाटन गरिएको हो ।

बजार क्षेत्रमा हुने सवारीको चापलाई मध्यनजर गरी बसपार्क निर्माण गरिएको नगरपालिकाका प्रमुख नारायण वनले बताए । नगरपालिकाको रु एक करोड २० लाखको लगानीमा बसपार्क निर्माण गरिएको । टाँडी बजारको सुन्दरताका लागि आकाशे पुलपछि बजारको बीच भागमा पर्ने गरी बसपार्क निर्माण गरिएको प्रमुख वनले बताए ।

बकुलहर, सौराहाचोक र टाँडीचोकबाट चल्ने म्याजिक, पर्यटकीय बस तथा तीनपाङ्ग्रे सवारी साधन बसपार्कमा पार्किङ हुने उनले जानकारी दिए ।

नगरभित्र पूर्वाधार निर्माणको काम तीव्ररुपमा भइरहेको भन्दै उनले अब हरियाली र सुन्दर पर्यटकीय शहरका रुपमा नगरलाई विकास गर्ने अभियानमा नगरवासीको साथ चाहिएको बताए ।

“सार्वजनिक जग्गा संरक्षण गर्ने क्रममा हामीले दर्जनौँ मुद्दा खेपिरहेका छौँ”, प्रमुख वनले भने, “जग्गा नभई पूर्वाधार बन्दैनन्, साझा हितका लागि हामी अझै मुद्दा खेप्न तयार छौँ ।”

कार्यक्रममा उपप्रमुख विमला दुबाडीले बजार क्षेत्रमा हुनसक्ने सवारी साधनको चापलाई मध्यनजर गरी चिटिक्कको बसपार्क सञ्चालनमा ल्याइएको बताए । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button