गण्डकीसमाचार

स्थानीय तहको न्यायिक समितिलाई कुनै किसिमको समस्या हुन नदिने ः मन्त्री श्रेष्ठ

कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले स्थानीय तहको न्यायिक समितिलाई कार्य सम्पादन गर्न कुनै किसिमको समस्या हुन नदिने बताउनुभएको छ ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिरहामा आज आयोजित स्थानीय तहका न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीको लागि क्षमता अभिवृद्धि तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले न्यायिक समितिलाई दक्ष जनशक्तिसँगै भौतिक पूर्वाधारको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै दबाब, प्रभावमा नभई ऐन, नियम र कानूनको आधारमा कार्य सम्पादन गर्ने आग्रहसमेत गर्नुभयो । न्यायिक समितिका पदाधिकारीमा इच्छाशक्तिको अभावका कारण अपेक्षाकृत कार्य गर्न नसकेको जिकिर गर्नुहुँदै उहाँले हरेक न्यायिक समितिलाई एक जना अधिकृतस्तरको दरबन्दी कायम गर्न समान्य प्रशासन मन्त्रालयमा पठाएको जानकारी दिनुभयो ।

श्रेष्ठले गरिब, विपन्न तथा दलित समुदायलाई कानूनी सहायता गर्न नियुक्त भएका कानूनी सहायता अधिकृतले अपेक्षाकृत रुपमा काम गर्न नसकेकाले सेवा सुविधा बढाएर भए पनि कानूनी सहायताको कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भौतिक पूर्वाधारलाई मात्र विकास सम्झिने परिपाटी गलत भएको भन्दै उहाँले जनतालाई न्याय दिने न्यायिक विषयलाई पनि विकास पूर्वाधारकै रुपमा अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरले न्यायिक समितिका बारेमा जनचेतना जगाउन नसकेकाले जनताले न्यायिक समितिको बारेमा बुझ्नै नसकेको बताउनुभयो । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय न्यायिक समितिलाई दिएको अधिकारलाई न्यायिक समितिका पदाधिकारीले प्रयोग गर्न नसकिरहेको गुनासो गर्नुहुँदै न्यायिक समितिका पदाधिकारीलाई प्रशिक्षित बनाउनुपर्नेमा जोड दिनुभयो ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव पुष्कर सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा सिरहाका १७ वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारी, अर्धन्यायिक निकायका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button