गण्डकीसमाचार

जिल्ला नापी कार्यालय म्याग्दीको सुविधासम्पन्न भवन प्रयोगविहीन बन्दै

म्याग्दी । बेनीमा करोडौँ खर्चेर निर्माण भएको जिल्ला नापी कार्यालय, म्याग्दीको भवन प्रयोगविहीन बनेको छ ।

नापी विभागले ठेक्कामार्फत बेनीको मङ्गलाघाटमा २०७७ मङ्सिरमा साढे तीन तले पक्की भवन निर्माण गरेको थियो ।मासिक रु ४० हजार खर्चेर भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहेको नापी कार्यालयको रु दुई करोड ४० लाखमा निर्माण भएको भवन प्रयोगविहीन बनेको हो ।

विसं २०७५ मा मसुद–बिएन–त्रिशक्ति जेभीसँग ठेक्का सम्झौता भएको भवन निर्माण योजनाको अन्तिम पटक थपिएको म्याद गत मङ्सिर मसान्तमा सकिएको छ । नापी कार्यालय म्याग्दीका प्रमुख तुलसी पौडेलले बाटोको निकास नहुँदा भवन प्रयोगमा ल्याउन नसकेको बताउनुभयो ।

“बाटोमा राखिएका पोल हटाउन विद्युत् प्राधिकरण, पाइप व्यवस्थापन गर्न सङ्घ र प्रदेशका खानेपानी कार्यालय तथा तुइन हटाउन बेनी नगरपालिका र जिल्ला समन्वय समितिलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “बिजुलीका पोल, पाइप र तुइनको टावर नहटाउँदासम्म मूल सडकदेखि भवनसम्म पुग्ने बाटोको निकास हुँदैन ।”

बेनी–मङ्गलाघाट सडकदेखि नापी कार्यालयको भवनमा पुग्ने करिब २० मिटर बाटोको बिचमा विद्युत्का पोल, खानेपानीका पाइप र तुइनको टावर छन् । तीन वटा कार्यालयको बिचमा खोल्सामाथि ढलान गरेर बनाइएको बाटोमा खानेपानीको पाइप राखिएको छ । दुई वटा विद्युत्का पोल र वर्षौंदेखि प्रयोगविहीन तुइनको एक वटा टावर छ ।

निर्माण कम्पनीका प्रतिनिधि निराजन खतिवडाले मुल सडकदेखि भवनसम्म पुग्ने बाटोको निकास र प्राविधिक मूल्याङ्कन नभएको बताउनुभयो ।

“मङ्सिरमै भवन निर्माण सकेर हस्तान्तरण गर्न खोजेको हो”, उहाँले भन्नुभयो, “नापी कार्यालयले अन्तिम मूल्याङ्कन गर्न र भवनसम्म पुग्ने बाटो बनाएर प्रयोगमा ल्याउन बेवास्ता गरेको छ ।”

तत्कालीन शहरी विकास तथा भवन कार्यालय बागलुङको प्राविधिक सहयोगमा निर्माण शुरु भएको भवनको प्राविधिक रेखदेख गर्ने जिम्मेवारी पूर्वाधार विकास कार्यालय म्याग्दीलाई हस्तान्तरण भएको छ ।

बागलुङको कार्यालय खारेज भएको र बेनीको कार्यालयमा भवनसँग सम्बन्धित प्राविधिक जनशक्ति नभएकाले नापजाँच र मूल्याङ्कन हुन नसकेको हो । भवनको ठेक्का प्रक्रियाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेकाले पनि जिम्मेवारी लिन प्राविधिकले नचाहेका हुन् ।

निर्माण कम्पनीका प्रतिनिधि खतिवडाले करिब रु ४० लाख भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो । बालमन्दिर चोकमा मासिक रु ४० हजार तिरेर १० वटा कोठा भाडामा लिई नापी कार्यालय सञ्चालन गरिएको छ । आगामी असारसम्मका लागि भाडा तिर्ने बजेट आएको छ ।

नापी अधिकृत पौडेलले प्राविधिक मूल्याङ्कन र बाटोको निकास दिएर भवन प्रयोगमा ल्याउन विभाग र प्रशासन कार्यालयमार्फत पनि पहल गरेको बताउनुभयो । नापी कार्यालयसँगै निर्माणाधीन कोष तथा लेखा नियन्त्रकको कार्यालयको भवन पनि अन्तिम चरणमा पुगेको छ ।

रु एक करोड ७० लाखमा साढे तीन तले भवन बनाउन २०७६ भदौमा दावा–त्रिशक्ति जेभीसँग ठेक्का सम्झौता भएको थियो । यही महिनासम्म ठेक्काको म्याद भएको सो भवन रङरोगन भइरहेको छ । खानेपानीको कार्यालय भवन पनि आधाभन्दा बढी निर्माण सकिएको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button