गण्डकीसमाचार

पोखराको रातो पहिरामा साहसिक खेल, बञ्जी जम्प सञ्चालनमा

गण्डकी खबर । पर्यटकीय नगरी पोखराको रातो पहिरामा साहसिक खेल बञ्जी जम्प सञ्चालनमा आएको छ । निर्माण कार्य शुरु भएको झन्डै दुई वर्षमा बञ्जी नेपाल एडभेन्चर प्रा.लि. ले आठ करोड २५ लाखको लागतमा बञ्जी जम्प सञ्चालनमा ल्याएको हो ।

अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय नाम “गो बञ्जी” को फ्रेन्चाइज बञ्जी जापानका संस्थापक बिउ रिटालिकले सोमबार पहिलो जम्प गरेर सफल परीक्षण गरेसँगै बञ्जी सञ्चालनमा ल्याइएको प्रा.लि. का अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिनुभयो । बञ्जीलाई २०७७ को शुरुवातमै सञ्चालन गर्ने लक्ष्य रहेको भएता पनि कोरोना प्रभावका कारण पछि धकेलिएको उल्लेख गर्दै अध्यक्ष भट्टराईले एक वर्ष पछाडि नयाँ वर्ष देखि नै बञ्जीको व्यावसायिक सञ्चालन गर्न सकिएको बताउनुभयो ।

बञ्जीमा ५५ मिटर लामो क्यान्टिलिभर पुल मार्फत स्टेसनको १०१ र १०५ मिटर गरी २ उचाइबाट जम्प गर्न सकिने छ । अध्यक्ष भट्टराईले एकै ठाउँमा दुई फरक उचाइमा जम्प गर्न मिल्ने पहिलो बञ्जी जम्प साइट आफूहरूको भएको दावी समेत गर्नुभयो । बञ्जीको १०१ मिटर प्लेटफर्मबाट साधारण बञ्जी र १०५ मिटर प्लेटफर्मबाट साइकल जम्प, बकेट जम्प, रनिङ जम्प लगायतका जम्प गराइने भट्टराईले बताउनुभयो । “नेपालमा हाल अघि र पछि फर्केर गरिने मात्र बञ्जी छन्, हामीले प्रकृतिको मनोरम छटाले भरपुर युक्त स्थानमा पूर्ण सुरक्षा कायम गरेर कपल बञ्जी जम्प सहित बञ्जी जम्पका विभिन्न फिचर थप गरेर बञ्जी सञ्चालनमा ल्याएका छौँ,” उहाँले भन्नुभयो ।

सिङ्गापुरमा मुख्य कार्यालय रहेको गो बञ्जीको फ्रेन्चाइजका रूपमा गो बञ्जी कै प्राविधिक सहयोगमा आइएसओ स्ट्याण्डर्ड अनुसार बञ्जी तयार गरिएको अध्यक्ष भट्टराईको भनाई छ । अन्तर्राष्ट्रिय मापदण्डमा बञ्जी जम्पमा अपनाइने सबै खालका सुरक्षालाई आफूहरूले अपनाएको उहाँले बताउनुभयो । “हामीले सुरक्षा मापदण्डमा कुनै कन्जुस्याइँ गरेका छैनौ’, अध्यक्ष भट्टराईले भन्नुभयो“ पूर्ण सुरक्षा सावधानी अपनाउँदै बञ्जीमा गो बञ्जीले आफैँ उत्पादन गरेका उपकरण तथा मेसिनरी प्रयोग गरिएको छ ।“

बञ्जी जम्पमा ४० देखि ५५ केजीसम्म, ७५ केजीसम्म, ९५ केजीसम्म र १२० केजी सम्मको लागि छुट्टाछुट्टै डोरी प्रयोग गरिने, जम्पको समयमा कसैले असहज महसुस गरे तिन वटा ब्याकअपसहित मेसिनरी र अपरेटरको सहायताबाट ३ देखि ६ मिनेटमै उद्धार गरिने व्यवस्था गरिएको भट्टराईले बताउनुभयो । पूर्व तयारीको समय बाहेक तीन सेकेन्डको फ्री फल रहने जम्पमा ३ मिनेट स्विङ्गसहित, विनचिङ मेसिनले माथि तान्ने समय गरी६ देखि ७ मिनेटमा बञ्जी जम्प गर्न सकिने भट्टराईको भनाई छ ।

बञ्जी जम्प गर्न शुरुवाती क्रममा रु छ हजार मूल्य कायम गरिएकोमा उद्घाटनको अवसरमा केही समयको लागि २५ प्रतिशत छुट प्रदान गरिने भएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । फोटो तथा भिडियोको लागि भने १२ सय रुपैयाँ अतिरिक्त तिर्नुपर्ने भट्टराईले बताउनुभयो ।

पोखराको मुटुमा सेती गण्डकीको पानीको दृश्य र सुसावट सँगै उत्तर तिर फर्किएर माछापुच्छ्रे र अन्नपूर्ण सहितका हिमश्रृखला हेर्दै गण्डकी माथि हाम फालेर बञ्जी जम्पको आनन्द लिन सकिने भएकाले यो बञ्जी अन्य ठाउँको भन्दा पृथक् रहेको सञ्चालक मध्येका एक भूपाल बहादुर बराल क्षेत्रीले बताउनुभयो ।

पोखराको लेकसाइडबाट जम्मा २.५ किमीको दुरी तथा चर्चित पर्यटकीय गन्तव्य पोखरा अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको २ सय ५० मिटरको दुरीमा रहेको बञ्जी जम्प स्टेसनमा पुग्नको लागि सार्वजनिक सवारीसाधन पनि चल्ने जानकारी दिँदै उहाँले यदि कसैले पोखराको कुनै पनि स्थानबाट बञ्जी जम्प तथा टावर क्लाइम्बको लागि आउन चाहेमा निःशुल्क ल्याउने लैजाने सेवा प्रदान गरिने बताउनुभयो।

एक दशक भन्दा लामो समय विश्वका विभिन्न मुलुकमा बञ्जी सम्बन्धी कामको अनुभव सम्हालेका तनहुँ राईपुरका भट्टराईसहित पोखराका भूपाल बहादुर बराल क्षेत्री, राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल र कल्पना पौडेल लगायतका युवा तथा व्यवसायीको संयुक्त लगानी रहेको छ ।

प्रा.लि.ले बञ्जी जम्पको छेउमा क्लाइम्ब गर्न मिल्ने ३५ मिटर उचाइको भ्यु टावर, बञ्जी जम्प तथा टावर क्लाइम्ब गर्न आउने पर्यटक पर्यटकको लागि लक्षित गर्दै ५० सिट क्षमताको रेस्टुरेन्ट र २६ सिटर कफी शप समेत सञ्चालनमा ल्याएको छ ।

टावरको माथि १० देखि १५ जना सम्म अट्ने स्पेस तयार गरिएको त्यहाँ बसेर पोखराका मनोरम दृश्य नियाल्दै बर्थडे पार्टी, म्यारिज एनीभर्सरी आदि मनाउन सकिने प्रा.लि.ले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button