गण्डकीसमाचार

असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने

गण्डकी खबर । सत्यनिरुपण तथा मेलमिलाप आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी गरेको छ ।

आयोगद्वारा आज पोखरामा आयोजित छलफल एवं अन्तक्र्रियामा आयोगका अध्यक्ष गणदत्त भट्टले २०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिरसम्मका कूल ६३ हजार ७१८ मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।आयोगमा आफूहरूले जिम्मेवारी पाएसँगै निरन्तर काम गरिएको जनाउँदै उहाँले विश्वव्यापी फैलिएको कोरोना महामारीले आयोगका काम कारवाहीमा पनि केही न केही असर पारेको स्पष्ट पार्नुभयो ।

आयोगले ७४७ मुद्दामा निर्णय गरिसकेको जनाउँदै अध्यक्ष भट्टले मुद्दाको सुनुवाइ हुने र पीडकले छुटकारा नपाउने विश्वास व्यक्त गर्नुभयो । द्वन्द्वपीडितलाई परिचयपत्र प्रदान गर्ने प्रक्रिया पनि थालिएको जानकारी दिँदैै उहाँले उक्त परिचयपत्रका आधारमा राज्यबाट प्रदान गरिने सेवासुविधाको सुनिश्चितताका लागि पनि पहल गरिएको स्पष्ट पार्नुभयो । भट्टका अनुसार गण्डकी प्रदेशमा हालसम्म ३४ जनालाई परिचयपत्र प्रदान गरिएको छ ।

आयोगका सदस्य मन दाहालले आयोगमा प्राप्त उजुरीका आधारमा कानून प्रदत्त अधिकारका आधारमा त्यसको छानविन गर्दै किनारा लगाउनेतर्फ आयोग क्रियाशील रहेको बताउनुभयो ।

आयोगका सचिव तोयानाथ अधिकारीले द्वन्द्वपीडितले न्याय पाउने कुरामा आयोग सजग र सचेत रहेको जनाउँदै प्राप्त उजुरीका आधारमा आवश्यक छानविनसहित निष्कर्षमा पुगिने सुनाउनुभयो । आयोगले निरन्तर द्वन्द्वपीडित एवं अन्य सरोकारवाला व्यक्तिसँग भेटघाट एवं अन्तक्र्रिया गरेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा द्वन्द्वपीडितका तर्फबाट कृष्णप्रसाद पराजुली, णनाथ बराल र सुमित्रा केसीले द्वन्द्वकालीन समयमा परिवारका सदस्य गुमाउनुपरेको पीडा तथा भोग्नुपरेका समस्यामा राज्यले सम्बोधन गर्न नसक्दा दुःख लागेको उल्लेख गर्दै आफूजस्ता पीडितलाई उचित न्याय दिलाउन आयोगको ध्यानाकर्षण गराउनुभयो ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button