गण्डकीसमाचार

तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल घट्दै

गण्डकी खबर । कोभिड–१९ को सङ्क्रमण पुनःदेखिन थालेसँगै नेपाल सरकारले भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका निर्देशन जारी गरेपछि तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल घट्न थालेको छ ।

जिल्लाको मानुङकोट, बन्दीपुर, आँधीमूल मन्दिर, छाब्दी बाराही मन्दिर, तनहुँ कालिका, अकला देवी मन्दिर, थानीमाई, छिम्केश्वरी, तनहुँसुरलगायतका धार्मिक, ऐतिहासिक र सांस्कृति क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल घट्न थालेको हो ।

छोटो अवधिमा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको परेवा डाँडा पुनः कोरोनाको हल्ला चल्न थालेपछि पर्यटकको आगमनमा कमी हुन थालेको छ । तनहुँको व्यास–१० स्थित ऐतिहासिक परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरेर संरक्षण गर्न थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

व्यास–५ स्थित मानहुँकोट डाँडा एकाएक चर्चामा आएपछि परेवा डाँडामा पनि पर्यटकहरुको आर्कषण बढ्दै गएको थियो । उक्त वडास्थित मादीनदीस्थित पहरामा परेवा बस्ने गरेको र पछिल्लो समय लोप हँुदै गएको थियो । पछि उक्त स्थानको नाउँ नै परेवाडाडाँ हुन गएको किंवदन्ती रहिआएको छ ।

पछिल्लो समय गुलेली र बम हान्ने जस्ता कार्यले परेवा विस्थापित हुँदै गएकाले त्यसलाई जीवन्त राख्न व्यास नगरपालिकाले परेवाको मूर्ति निर्माण गरेर संरक्षण गर्न थालेपछि पर्यटकको चहलपहलमा वृद्धि भएको थियो ।

परेवाको मूर्ति निर्माण गरिएपछि दिनमा ८० देखि १५० सम्म जोडी आएर फोटो खिच्ने, सेल्फी लिने र टिकटक बनाउनेलगायतका कार्यका लागि जाने गरे पनि पछिल्लो समय घट्दै गएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार नेपाल सरकारले भीडभाड नगर्ने सामाजिक दूरी कायम गर्नेलगायतका निर्देशन जारी गरेपछि पर्यटकहरुको आगमनमा ह्वात्तै घटेको हो । उक्त स्थानबाट मादीनदीको पानी कलकल बगेको आवाज, मनासलु, अन्नपूर्णलगायतका दृश्य अवलोकन, गलेखामकोट, मानहुँकोट, काहुँडाँडा दुम्सीकोट कालिका मन्दिर, क्यामिनकोट कालिका, कलेस्ती फाँट, तनहुँ कालिका र दमौलीका केही भागलगायतका ऐतिहासिक एवं धार्मिकस्थलको अवलोकन गर्न सकिनेछ ।

“नजिकको तीर्थ हेला भनेजस्तो भएको छ”, वडाध्यक्ष सापकोटाले भन्नुभयो, “यहाँको प्रचुर सम्भावना हुँदाहुँदै पनि हामीले बेवास्ता गरेका कारण ओझेलमा पर्दै गएकाले संरक्षण गरिएको हो ।”

त्यसैगरी सोही स्थान नजिकै व्यक्तिको निजी खर्चमा निर्माण गरिएको फनपार्कमा समेत पर्यटकको आगमनमा कमी हुन थालेको पिजनहिल टिकटक पार्क प्रालिका सञ्चालक विवेक सापकोटाले बताउनुभयो ।

परेवा डाँडा र टिकटक पार्कमा आन्तरिक पर्यटकको उल्लेखनीय आगमन हुने गरे पनि पुनः कोरोनाको हल्लाले पर्यटकको सङ्ख्या ह्वात्तै घटेको उहाँले जानकारी दिनुभयो । उक्त पार्कमा बच्चा, वयस्कदेखि वृद्धवृद्धाले मनोरञ्जन लिनसक्ने व्यवस्था छ । उहाँले कोरोनाको हल्लासँगै कर्मचारीलाई तलब खुवाउन पनि धौ धौ हुन थालेको दुखेसो पोख्नुभयो ।

अघिल्लो वर्ष कोरोनाले करिब सात महिना थला परेको व्यवसायी केही महिना तङ्ग्रिन थाले पनि पुनः उस्तै समस्या भोग्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

बन्दीपुरमा नयाँ वर्षको दिन उल्लेखनीयरूपमा पर्यटकको आगमनका साथै रमाइलोमा रम्ने गरे पनि त्यसपछि पर्यटकको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको पर्यटन व्यवसायी बैश गुरुङले बताउनुभयो ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button