गण्डकीसमाचार

तनहुँको शुक्लागण्डकीमा शीतभण्डार निर्माण शुरु

गण्डकी खबर । तनहुँको शुक्लागण्डकी नगरपालिकामा शीतभण्डार निर्माण शुरु भएको छ ।

सङ्घीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट शुक्लागण्डकी नगरपालिका–८ सङ्गमटोलमा शीतभण्डार निर्माण शुरु गरिएको हो ।

कृषकले उत्पादन गरेका कृषि उपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्न सक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण शुरु गरिएको शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले रु एक करोड सशर्त अनुदान बजेट उपलब्ध गराएको छ भने नगरपालिकाले रु दुई करोड लगानी गरेको छ । कूल रु तीन करोडको बजेटमा बोलपत्र प्रक्रियाबाट निर्माण कार्य शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

शीतभण्डारलाई नगरपालिकाले गौरवको योजनाको रुपमा सूचीकृत गरेको छ । लामो समयदेखि लालिमस्थित सिर्जनशील महिला समाजले संरक्षण गरेको सार्वजनिक जग्गामा शीतभण्डार निर्माण थालिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । नगर क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो । “यस वडामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ, तर पनि किसानले उत्पादन गरेका आलुको उचित मूल्य पाउन गाह्रो भइराखेको थियो, “उहाँले भन्नुभयो, “शीतभण्डार निर्माण सम्पन्न भएपछि यो समस्या हट्छ ।”

कृषकले उत्पादन गरेका आलु शीतभण्डारसम्म पुर्‍याउन वडा कार्यालयले नै व्यवस्थापन मिलाउँदै आएको छ । शीतभण्डारसम्म आलु ढुवानीका लागि यस वर्ष रु दुई लाख बजेट विनियोजन गरिएको थियो । कृषकलाई आत्मनिर्भर बनाउन यस वडामा आलुको बीउ वितरण गरिएको थियो । किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २०० किलो बीउ आलु वितरण गरिएको थियो ।

‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले वडा नं ८ मा आलु उत्पादनलाई प्राथमिकतामा राखेको छ । उक्त कार्यक्रमलाई सघाउन सङ्घीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलु बाली विकास कार्यक्रमअन्र्तगत आलु पकेट कार्यक्रम सञ्चालनार्थ रु २४ लाख बजेट पठाएको थियो ।

शीतभण्डार नहुँदा समस्या भोगेका किसान शीतभण्डार निर्माण शुरु भएपछि खुशी भएका छन् । शीतभण्डार नहुँदा उचित मूल्य पाउन नसकेको मञ्जु श्रेष्ठको गुनासो छ ।

सोही वडाका रमेश महतले शीतभण्डार निर्माण सम्पन्न भएपछि उत्पादनको उचित मूल्य पाउने बताउनुभयो ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button