गण्डकीसमाचार

आज जोर नम्बरका सवारीसाधन सञ्चालनमा रोक,जोर सवारीसाधन नियन्त्रणमा

गण्डकी खबर । पोखरासहित कास्की जिल्ला भर आजदेखि सवारीसाधन सञ्चालनमा कडाइ गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि प्रशासनले आज बिहान ६ बजेबाट जिल्लाभर सार्वजनिक तथा निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गरेकोमा आज जोर नम्बरका सवारीसाधन सञ्चालनमा रोक लगाइएको कास्की प्रहरी प्रहरी प्रमुख , एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आजबाट जोर बिजोर प्रणाली लागु भएकोमा बिहानैबाट चेकजाँच कडाइ पारिएको र हालसम्म.तिन सय भन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको एसपी श्रेष्ठले बताउनुभयो । “हामीले अत्यावश्यक सेवा औषधि तथा बिरामी बोकेका सवारीसाधन,खाद्यान्न तथा निर्माण सामग्री बाहेकका सवारीसाधनमा जोर बिजोर प्रणाली पूर्ण रूपमा लागु गराएका छौ, एसपी श्रेष्ठले भन्नुभयो, ” बिहान ८ :३० सम्म ८१ वटा चार पाङ्ग्रे सवारीसाधन तथा २२४ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएका छौ ।”

आज पहिलो दिन भएकोले अटेर गरी सवारीसाधन चलाउनेलाई नियन्त्रणमा लिएर होल्ड गराएर राखिएको र भोलिबाट पनि अटेर गरे नियम अनुसार कडा कारबाही गरिने एसपी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “ हामीले ड्युटीमा निस्किएका सरकारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र अत्यावश्यक काममा बाध्यताले निस्किनु भएकाको हकमा पिर मर्का बुझेर छाडेका छौ, अन्यको हकमा पूर्ण बन्देज लगाएका छौँ । “

त्यस्तै आदेशलाई अटेर गरी खोलिएका स्वास्थ्य सामाग्रीका पसल, उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलबाहेकका अन्य पसल तथा व्यवसायहरूलाई बिहानैदेखि नै प्रहरीको सक्रियतामा बन्द गराइएको पनि उहाँले बताउनुभयो ।

एसपी श्रेष्ठले कोरोना भाइरसको संक्रमण फैलिँदै गएको अवस्थामा त्यसलाई नियन्त्रणका लागि प्रशासनले जारी गरेको आदेशलाई पूर्ण रूपमा पालना गराउनका लागि कास्की प्रहरी कटिबद्ध भएर लागिपरेको भन्दै आफू स्वयं पनि बिहान ५ बजे देखि नै अनुगमनमा उत्रिएको बताउनुभयो ।
प्रशासनले वैशाख १५ गते बिहान ६ बजेबाट वैशाख २१ गते राति १२ बजे सम्म अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।

प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरू २४ सै घण्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलहरू बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ । डिपार्टमेन्टल स्टोर्स, सपिङ मल र ठुला स्टोरहरू सञ्चालनमा रोक लगाइएको छ । होटेल तथा रेस्टुरेन्टमा टेक अवे सेवा मात्र सञ्चालन हुने गरी बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ ।

जिल्ला भित्र सञ्चालन हुने अत्यावश्यक सवारीसाधनबाहेक यात्रुवाहक सार्वजनिक तथा निजी सवारीसाधनहरूमा सो अवधिभर जोरबिजोर प्रणाली लागु भएको प्रशासनले जनाएको छ । जोरबिजोर प्रणाली अन्तर्गत जोर दिनमा जोर नम्बरका सवारीसाधन र बिजोर दिनमा बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन् ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने दैनिक सेवा, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराको समन्वयमा शाखा प्रबन्धकले न्यूनतम कर्मचारीको उपस्थितिमा सञ्चालन गर्न सक्ने भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button