गण्डकीसमाचार

जिल्लामै पहिलो आधुनिक र व्यवस्थित बधशाला निर्माण

गण्डकी खबर । तनहुँ जिल्लाको व्यास नगरपालिका–३ बिसघरेस्थित बुल्दीखोला किनारमा जिल्लामै पहिलो आधुनिक र व्यवस्थित बधशाला निर्माण गरिएको छ ।

करिब एक रोपनी क्षेत्रफलमा रु ६० लाखको लागतमा आधुनिक बधशाला निर्माण गरिएको हो । आगामी आर्थिक वर्षमा बायोग्यास प्लान्टसमेत जडान गर्ने योजना रहेको वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त बधशाला विसं २०७६ पुसमा थालिएको थियो । कुखुरा, भैँसी, राँगा र खशीबोकाका लागि छुट्टाछुट्टै पशु बधस्थलको व्यवस्था मिलाइएको नगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जथाभावी पशु बध गर्दा वातावरण दुर्गन्धित हुनुका साथै उपभोक्ताले स्वच्छ मासु खानाबाट बञ्चित हुँदै आएकाले त्यसलाई न्यूनीकरण गर्न बधशाला निर्माण गरिएको हो । उहाँले भन्नुभयो, “बिजुली विस्तारसँगै बधशालासम्म जाने बाटो निर्माण सम्पन्नपछि बधशाला सञ्चालनमा ल्याइएको हो ।”

बधशाला सञ्चालनमा ल्याउनु अघि मासु व्यवसायी सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ, उपभोक्ता समितिलगायत निकायबीच छलफल गरिएको थियो । “बधशालामा पशुबध गरिएको मासु मात्रै बिक्री गरिनेछ”, वडासदस्य रविन पौडेलले भन्नुभयो, “सफा, सुग्घर स्वच्छ मासु भए/नभएको अनुगमन तथा निरीक्षण कार्यलाई कडाइका साथ लागू गरिने छ ।”

बधशाला नहुँदा मासु व्यवसायीले अस्वस्थ प्रतिस्पर्धाका साथै जथाभावी काटमार गरेर अव्यवस्थित (खुला) तरिकाले मासु ओसारपसार गर्दै आएकाले त्यसलाई समेत मध्यनजर गरी व्यवस्थित गरिन लागिएको नगरपालिकाले जनाएको छ ।

व्यवस्थित तरिकाले बधशाला निर्माण गरिएको तनहुँमा यो पहिलो बधशाला भएको नगरपालिकाले जनाएको छ । उक्त बधशालाको केही दिनअघि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घटन गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button