गण्डकीसमाचार

पदमुक्त भएकोमा अत्यन्तै खुशी छुः पूर्व प्रदेश प्रमूख अमिक शेरचन

गण्डकी खबर । गण्डकी प्रदेशको प्रदेश प्रमूखबाट पदमुक्त भएकोमा अमिक शेरचनले आफूलाई अत्यन्तै खुशी लागेको बताउनुभएको छ ।

आज पोखरामा शेरचनले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा आफूले पदको लागि राजनीति नगरेको भन्दै पार्टीको निर्णयका कारण बाध्य भएर प्रदेश प्रमूख स्वीकार गर्नु परेको जनाउनुभएको छ ।

सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा शेरचन र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमूख पदमुक्त गरिएका थिए । पत्रकार सम्मेलनमा शेरचनले विगतमा विभिन्न पदहरु आफूले अस्वीकार गरेको बताउनु भएको छ ।

उहाँ भन्नुहुन्छ,–“पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुन प्रचण्डजी मार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो ।” पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै प्रदेश प्रमूखको पद स्वीकार गरेको उहाँको भनाइ छ ।

पदमुक्त भएपछि खुला जेलबाट मुक्त भएको जस्तो अनुभूति गरेको भन्दै उहाँले विगतमा राष्ट्रपति, प्रधानमन्त्री पदको प्रस्ताव ठाडै इन्कार गरेको व्यक्ति आफू भएको पनि दावी गर्नुभएको छ ।विभिन्न संघर्षहरुमा कुनै पनि प्रकारको षडयन्त्र र गद्दारी नरेको भन्दै कमिशन र भष्ट्राचारमा आफू नडुबेको पनि बताउनु भएको छ ।

उहाँ भन्नुहुन्छ,– “राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि वारम्वार हस्तेक्षप र अतिक्रमण गर्ने भारतीय विस्तारवाद र साम्राज्य विरुद्धको संघर्षमा पञ्चायतकालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धी सम्झौता विरुद्धको संघर्षमा मैले कुनै प्रकारको षडयन्त्र र गद्दारी गरेको छैन । न त अरबाै‌ कमिशन र भ्रष्टाचारमा डुबेको छु ।”

प्रदेश प्रमूखको पदमा रहँद संवैधानिक मर्यादालाई पूर्ण पालना गरेको उहाँले बताउनुभएको छ । संवैधानिक मर्यादा पालना गर्दा कसैको लागि अप्रिय भएको भए संविधान हेरेर चित्त बुझाउन उहाँले अनुरोध गर्नुभएको छ ।

शेरचनलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले १८ महिना अघि प्रदेश प्रमूखमा सिफारिस गरे पछि राष्ट्रपतिले नियुक्त गर्नुभएकाे थियाे । उहाँ नेपाल कम्युनिष्ट पार्टी माओबादी (केन्द्र) का नेता हुनहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button