गण्डकी खबर । पोखरामा झन्डै ४० लाख लागतमा गण्डकी प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन निर्माण हुने भएको छ ।
पोखरा रङ्गशाला हाताभित्र निर्माण हुने उक्त भवनको बिहीबार गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले शिलान्यास गर्नुभयो ।
सो अवसरमा बोल्दै मन्त्री गुरुङले गण्डकी प्रदेशका ११ जिल्लामा रहेका पूर्वाधारहरू र सम्पतीका विषयमा आफूले अध्ययन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो –“हामीले सबै जिल्लाका पूर्वाधारहरू सम्पतीको खोजी गरिरहेका छौँ र ती कस्तो अवस्थामा छन् त्यसको जानकारी समेत लिने काम शुरु गरेका छौँ ।”
एक साता अघि मात्रै मन्त्रालय सम्हाल्नुभएका मन्त्री गुरुङले खेलाडीहरूका लागि छात्रावास र मार्सल आर्टको सुविधा सम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताउनुभएको छ । पोखरा रङ्गशाला भित्र निर्माण भएका पूर्वाधारहरू मनोमानी ढङ्गले चलेको र तीनको उचित उपयोग हुन नसकेको मन्त्री गुरुङको भनाई छ । उहाँले भन्नुभयो –“यहाँका खेल पूर्वाधारहरू मनोमानी ढङ्गले चलेका छन् भन्ने मैले सुनेको छु, यो खेलाडी उत्पादन गर्ने ठाउँ हो न की धनी व्यक्तिहरूको भुँडी घटाउने ठाउँ ।”
विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकुद रहे पनि अहिले खेलकुद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने मन्त्री गुरुङले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले खेलकुद सँगै युवा स्वरोजगार कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउने, जिल्ला जिल्लामा रहेका खेलकुदका भौतिक सम्पतीलाई खेलाडी र युवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको बताउनुभयो ।
प्रदेश सरकारको रु ४० लाख लागतमा स्टिल संरचनामा सभाहलसहित ११ कोठाको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसकिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो –“खेलकुद परिषद्को प्रशासनिक भवनको आज शिलान्यास हुनु हाम्रा लागि खुसीको दिन हो ।”
भवन निर्माणपछि परिषद्को काम कारबाहीलाई थप व्यवस्थित बनाउन सहज पुग्ने सदस्य सचिव गुरुङले बताउनुभयो । कोरोना महामारीमा पनि आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खेल पूर्वाधार निर्माणलाई अघि बढाइने उहाँको भनाई छ ।रासस