गण्डकी खबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा पुरानो व्यवस्थाको पुर्नस्थापना हुन नदिने बताउनुभएको छ ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले आयोजना गरेको अनन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशमा संकटकाल लगाउने, अनेकखालका षडयन्त्र, तानाबाना बुनिएको सुनिरहेको भन्दै यस्ता षडयन्त्र सफल नुहने बताउनुभयो । पुरानो व्यवस्थाको पुर्नस्थापना हुन्छ भन्नेमा कसैले सपना नदेख्न उहाँको आग्रह छ । पुरानो व्यवस्थाको पुर्नस्थापना हुने कुनै सम्भावना नरहेको र हुन नदिने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताउनुभयो । सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उहाँको भनाई छ । वैशाखमा चुनाव नहुने पनि उहाँले बताउनुभयो ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सधैभरी अग्रगमनको पक्षमा रहने बताउनुभयो । प्रतिगमनको पक्षमा नजाने उहाँको भनाई छ ।पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरेसँगै राजनीतिक दलहरु यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । बुधबार नेकपा प्रचण्ड-माधव पक्षले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राख्नुभएको थियो ।पोखरा न्यूज