गण्डकीसमाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त

गण्डकी खबर । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त हुनुभएको छ । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलाे दलको हैसियतले आज नेकपा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नव नियुक्त मुख्यमन्त्री गुरुङले आजै पद तथा गोपनियताको सपथ लिने बताइएको छ ।

वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएकाे थियाे । उहाँकाे राजिनामा पछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र उक्त समय सीमा आज दिउँसो ४ः०० बजे सकिएकाे हाे  ।

आज दिउँसो ४ः०० बजेसम्म दलहरूले बहुमत प्रदेश सांसदहरुकाे हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गर्न नसके पछि प्रदेशमा सबभन्दा ठूलो दल एमालेका नेता गुरुङ पुन मुख्यमन्त्री बन्नु भएकाे हाे ।

 

यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरेका थिए ।

अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरेको जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा कांग्रेससहितका दललाई समस्या परेको हाे ।

एकतीस सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा हुनुहुन्छ ।

त्यस्तै नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् ।

यसैवीच प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले बहुमत दाबीसहितकाे पत्र आजै प्रदेश प्रमूख कार्यालयमा दर्ता गराउनु भएकाे छ ।

आज कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादीले राष्ट्रिय जनमोर्चाको साथ लिएर गठवन्धनको तर्फबाट नेता नेपालीले प्रदेश प्रमुखको कार्यालय पाेखरामा पत्र दर्ता गराउनु भएकाे हाे।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button