गण्डकीसमाचार

पोखरामा कोरोना संक्रमितलाई निःशुल्क खाना खुवाउदै: विवेकशील साझा पार्टी

गण्डकी खबर । विवेकशील साझा पार्टीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोनाका बिरामी तथा कुरुवालाई निःशुल्क खाना खुवाउने भएको छ ।

पार्टीको पोखरा महानगर समितिले ‘तातो भात अभियान’ शुरु गर्दै आज आइतबार बेलुकाबाट अस्पतालको कोभिड वार्डमा रहेका बिरामी र बिरामी कुरुवालाई खाना पुर्‍याउने भएको हो ।

पार्टीको जिल्ला कमिटी तथा प्रदेश कमिटीको सहयोगमा महानगर समितिले पहिलो चरणमा १० दिनका लागि भनेर आजदेखि तातो भात अभियान शुरु गर्न लागेको महानगर समिति संयोजक अजय श्रेष्ठले जानकारी दिनुभयो ।

“हामीले अहिले अस्पताल प्रशासनसँग समन्वय गर्दै पहिलो चरणमा १० दिनका लागि हरेक दिन बेलुका अस्पतालको कोभिड वार्डमा रहेका बिरामी र बिरामी कुरुवालाई खाना पुर्‍याउदैछौ ”, संयोजक श्रेष्ठले भन्नुभयो “अहिले आफ्नै खर्चमा यो अभियान शुरु गरेका छौँ, अभियानका लागि सहयोग जुटेमा यसलाई बिहान बेलुका दुई छाक नै गरेर निरन्तर लकडाउन अवधि भर अघि बढाउँछौ ।”

आफूहरूले आज अस्पताल प्रशासन सँग समन्वय गरेर अस्पतालको कोभिड वार्डमा रहेका ७७ जना बिरामी तथा उनीहरूका कुरुवा गरेर २०० जनालाई तातो खाना पुर्‍याउन लागेको श्रेष्ठले जनाउनुभयो । उहाँले अस्पताल प्रशासन सँग समन्वय गर्दै दैनिक रूपमा तथ्याङ्क सङ्कलन गरेर उक्त वार्डका सबैलाई खाना पुर्‍याउने बताउनुभयो ।

अहिले लकडाउनमा होटल रेस्टुरेन्टहरू बन्द रहेको उल्लेख गर्दै संयोजक श्रेष्ठले अस्पतालको क्यान्टिनमा पनि लकडाउनले समस्या परेको अवस्थामा यस्ता समस्या तथा अर्थ अभावका कारण अप्ठ्यारोमा परेका बिरामी तथा कुरुवा भोकै हुन् नपरोस् भनेर आफूहरूले अभियान शुरु गरेको बताउनुभयो ।

विवेकशील साझा पार्टीले कोभिडको जोखिमको प्रवाह नगरी विशुद्ध मानवीय हिसाबले अभियान शुरु गरेको जनाउँदै उहाँले इच्छुक महानुभावलाई खाद्यान्न वा नगद सहयोग गरेर अभियानलाई निरन्तरता दिने कार्यमा सघाउन अनुरोध समेत गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button