गण्डकीसमाचार

गण्डकी प्रदेशमा आजदेखि १२६ जना नर्सले होम आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने

गण्डकी खबर । गण्डकी प्रदेशमा आजबाट ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरु भएको छ ।

कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई स्वास्थ्य परामर्श दिँदै संक्रमितहरुको मनोबल बढाउने तथा उपचारमा सहजीकरण गर्ने उद्देश्यले स्वास्थ्य निर्देशनालय गण्डकीले ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरू गरेको हो।

‘कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका संक्रमित व्यक्तिहरूको मनोबल उच्च पार्दै, उहाँहरूलाई खानपिनको जानकारी तथा अक्सिजन लेभल,अस्पताल, एम्बुलेन्स जस्ता कुराहरूको पूर्व जानकारी दिने उद्देश्यले हामीले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ’, प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले भन्नुभयो ।

पोखरा नर्सिङ क्याम्पसका बीएस्सी र एमएस्सीका नर्सिङ विद्यार्थी, सिनियर नर्स, प्राध्यापक लगायतका १२६ जनाको सहयोगमा आजदेखि दैनिक रूपमा होम आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने उहाँले बताउनुभयो ।

प्रदेशमा सक्रिय रूपमा रहेका ६८२० जना संक्रमितहरुको सम्पर्क नम्बर टोलीलाई प्रदान गरिएको र उनीहरूले आ-आफ्नो जिम्मामा परेका संक्रमितलाई पहिलो पटक आज बिहीबार फोन गर्ने निर्देशक डा. शर्माले बताउनुभयो ।

संक्रमितलाई पहिलो पटक फोन गरेको दुई दिनपछि दोस्रो पटक र सातौ दिनमा तेस्रो पटक गरी सातामा तीन पटक फोन गरेर स्वास्थ्य अवस्था बुझ्ने र सोही अनुरूप फलो अप हुने डा. शर्माको भनाई छ ।

यदि कुनै संक्रमितलाई नियमित रुपमा फोन सम्पर्क गर्नुपर्ने खालको देखिएमा त्यस्ता संक्रमितलाई दिनहुँ फोन सम्पर्क गरेर स्वास्थ्य अवस्था बुझिने उहाँले बताउनुभयो । डा. शर्माका अनुसार हरेक दिन थप भएका संक्रमितहरुको विवरण कार्यक्रममा सहभागी टोलीलाई प्रदान गरिनेछ ।

फोन गर्दा कसैको स्वास्थ्य अवस्था जटिल भएको पाइएमा नर्सले एम्बुलेन्स कहाँ उपलब्ध छ र कुन कुन अस्पतालमा बेड खाली छ भनेर बिरामी र आफन्तलाई तत्काल जानकारी गराई अस्पताल ल्याउन सहजीकरण गर्ने डा. शर्माले बताउनुभयो ।

प्रदेशमा हाल रहेका सक्रिय संक्रमितको तथ्याङ्क अनुसार एक जनाले ७० जनाको हाराहारीमा संक्रमितको स्वास्थ्य अवस्था बुझ्नुपर्ने हुन्छ ।

कार्यक्रम लागू भएसँगै स्वास्थ्य सम्बन्धी सामान्य ज्ञान नपाएका कारण, पूर्व ज्ञान नभएका कारण समयमै अस्पताल आउन नपाएर अथवा मनोबल गुमेर संक्रमितको ज्यान जाने अवस्थाको अन्त्य हुने निर्देशक डा. शर्माले दावी गर्नुभयो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले यस अघि बाटै हटलाइन नम्बर १०९२ मार्फत एक जना कन्सल्टेन्ट डाक्टर र पाँच जना मेडिकल अफिसरको सहयोगमा कोरोना संक्रमित र अन्य बिरामीलाई स्वास्थ्य परामर्श दिँदै आएको छ ।

बुधबार बेलुका सम्मको तथ्याङ्क अनुसार अहिले गण्डकी प्रदेशभर छ हजार ८२० सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये छ हजार ३०१ जना होम आइसोलेसनमा रहेका छन् ।

गण्डकी प्रदेशमा कोरोनाका कारण सात सय ९९ जनाले ज्यान गुमाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button