गण्डकीसमाचार

अप्राकृतिक गठबन्धन पूर्वपश्चिम फर्केको छ :पृथ्वी सुब्बा गुरुङ

गण्डकी खबर । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अब आफूलाई पार्टीमा काम गर्न खुल्ला वातावरण मिलेको बताउँदै प्रदेशमा पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निभाउने जानकारी दिनुभएकाे छ ।

पाेखरामा आइतबार बिहान पत्रकारहरू कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता गुरुङले प्रदेशमा जुन सरकार आए पनि संघीयताको मर्म अनुसार काम हुनुपर्नेमा आफ्नो जोड रहने प्रष्ट पार्नुभयाे ।

शनिवार विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पाेखरेलकाे नेतृत्वमा सरकार गठन भएकाे छ । पोखरेल काँग्रेस, माओवादी केन्द्र, राजमो र जसपा गरी चार दलका ३० सांसद तथा एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । तर पाेखरेल नेतृत्वकाे सरकारकाे आयु पनि लामाे नभएकाे एमाले नेता गुरुङकाे टिप्पणी छ । ‘गुटउपगुटमा विभाजित अप्राकृतिक यो गठबन्धन पूर्वपश्चिम फर्केको छ । कुर्सी प्राप्तिमा गरिने गठबन्धनमा केही न केही झगडा हुन्छ र गठबन्धनको आयु लामो छैन,’ उहाँकाे भनाइ छ ।

सबै दलहरुमा विभाजनका रेखा कोरिएको भन्दै सबै दलले आफूलाई करेक्सन गरेर अगाडि बढ्नुकाे विकल्प नभएकाे उहाँकाे भनाइ छ । त्यसैगरी आफ्नो नेतृत्वको सरकार ढल्नुमा एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे पनि दाेष रहेकाे उहाँले बताउनुभयाे । ‘सबै कारण नै ओली हुन त भन्न मिल्दैन। तर, उहाँका पनि कारण चाहिँ हो,’ उहाँले भन्नुहुन्छ, ‘नेपालमा दुई तिहाइको सरकार सफल हुन नदिने योजना अनुसारको नै काम भइरहेको छ।

नेपाली कांग्रेसको दुई तिहाइको सरकारको हालत हेर्नुस् र अहिले नेकपाको सरकारको हालत हेर्नुस्।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button