गण्डकी खबर । आज बिहान पृथ्वी राजमार्गमा मोटरसाइकल र कन्टेरनर ठोक्किदा भएको दुर्घटनामा कास्कीका एक युवकको ज्यान गएको छ ।
नेपाल प्रहरीका अनुसार पोखराबाट दमौली जाँदै गरेको ग १४ प ७२०१ नम्बरको मोटर साइकलमा सवार कास्कीको मादी गाँउपालिका ९ का २८ वर्षीय प्रदीप भट्टराईको दुर्घटनामा निधन भएको हो ।
दमौलीबाट पोखरातिर आँउदै गरेको ना ७ ख ११६८ नम्बरको कन्टेरनर र मोटससाइकल आज बिहान साढे आठ बजेको समयमा शुक्लागण्डकी नगरपालिका ७ मालेबगर स्थित पृथ्वी राजमार्गमा एकआपसमा ठक्कर खाएको प्रहरीको भनाइ छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा घाइते भएका भट्टराईलाई उपचारको लागि बेलचौतारा तनहुँस्थित जिपी कोइराला अस्पतालमा लगिएको थियो । हाल २१ नम्बर बाहिनी अड्डा झापामा नेपाली सेनामा कार्यरत उनको उपचारको क्रममा निधन भएको हो ।
प्रहरीले कन्टेरनर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।