गण्डकी खबर । गण्डकी प्रदेशमा कोरोना विरुद्धको ‘जेनसेन खोप’ लगाउने कार्यको शुरुवात प्रदेशका
मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको गृह जिल्ला नवलपरासी (ब.सु.पू.)बाट गरिएकाे छ ।
प्रदेशका मुख्यमन्त्री पोखरेलकोे गृह जिल्लाकाे नवलपुर स्वास्थ्य चाैकी काेल्हवामा आज एक कार्यक्रम
आयोजना गरेर कोरोना विरुद्धको जेनसेन खोप लगाउन शुरु गरिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्दशनालय पोखराले दिएको जानकारी अनुसार प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रमको समुद्घाटन मुख्यमन्त्रीले गर्नु भएको हाे ।
जेनसेन खोप क्रमशः सबै जिल्लामा संचालन हुने निर्देशनालयले जनाएको छ ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डाैंकाे गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग
सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको शुरुआत गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक
अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित
कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण गर्नुभएको छ ।
अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन थालिएको हो ।
अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स
सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको हो ।
सो खोपको एक मात्रा लगाए पुग्छ । यसअघि नेपालमा कोभिशिल्ड र भेरोसेल खोप लगाइएको थियो ।