गण्डकी खबर । गण्डकी प्रदेशकाे मन्त्रीपरिषद्मा थपिएका नयाँ मन्त्रीहरुले आज सपथ लिनु भएकाे छ ।
प्रदेश प्रमूख सीता कुमारी पाैडेलसँग थप ६ नयाँ मन्त्रीहरुले सपथ लिनु भएकाे हाे । यससँगै प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रीहरुकाे संख्या ११ पुगेकाे छ ।
जेठ २९ गते नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पाेखरेलकाे नेतृत्वमा गठन भएकाे सरकारमा पदकाे भागबण्डा नमिल्दा विस्तार हुन सकेकाे थिएन ।
साेही दिन मुख्यमन्त्री पाेखरेलसहित विनाविभागीय मन्त्रीहरु कांग्रेसका तर्फबाट कुमार खड्का,
माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई सपथ गराइएकाे थियाे ।
असारकाे दाेस्राे हप्ता उहाँहरुलाई मन्त्रालयकाे जिम्मेवारी दिइएकाे थियाे ।
कांग्रेसले आज र माओवादी केन्द्रले हिजाे मात्र नयाँ मन्त्रीहरुकाे नाम टुंगाे लगाउन सके पछि मन्त्रीपरिषद्ले पूर्णता पाएकाे हाे ।
कांग्रेसका मणिभद्र शर्मा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान
प्रविधि तथा सामाजिक विकास मन्त्री र विन्दुकुमार थापा कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीका रुपमा शपथ लिनु भएकाे छ ।
यसअघि शिक्षा मन्त्री रहनु भएका खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।
माओवादीबाट रामजी बराल अर्थ मन्त्री, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी
निवारण मन्त्री र दीपक थापा वन वातावरण तथा भूसंरक्षण मन्त्रीका रुपमा रुपमा शपथ लिनु भएकाे छ।
यसअघि माओवादीकी अधिकारीले स्वास्थ्य तथा जनसंख्या, जसपाका आचार्यले ऊर्जा र स्वतन्त्र सांसद गुरुङले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएकाे छ ।
काँग्रेस, माओवादी केन्द्र, राजमो र जसपा गरी चार दलका ३० सांसद तथा एक स्वतन्त्र सांसदको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभएको हो ।