गण्डकीसमाचार

म्याग्दीमा दुई करोडभन्दा बढी खर्चेर बनेको मोटरेबल पुल प्रयोगविहीन

गण्डकी खबर । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराले बगाएको छ ।

करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ ।

शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी लोकबहादुर पुर्जाले बताउनुभयो ।

“जोखिम मोलेर खोलामा जङ्घार तरेर आवतजावत गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “आलुलगायत

कृषिउपज निकासी, खाद्यान्न र निर्माण सामग्री आयात ठप्प भएको छ ।” शिख, किन्दु, स्वाँत, पाउद्वारका ३०० भन्दा बढी घरधुरी प्रभावित भएका छन् ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालयले विसं २०७३ मा शुरु गरेको ३० मिटर लामो यो पुलको निर्माणलाई

विसं २०७६ मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले पूर्णता दिएको थियो ।

स्वच्छन्द–गौचन जेभीले रु दुई करोड २५ लाखमा यो पुल निर्माणका लागि ठेक्का लिएको थियो ।

लक्ष्यभन्दा दुई वर्ष ढिला गरी निर्माण सकिएको पुल दुई वर्ष पनि प्रयोग गर्न नपाउँदै पहुँचमार्ग बगाएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

पुलको अभावमा शिखदेखि स्वाँत र किन्दु जाने आउने सवारी साधन खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ ।

खोलामा बाढी आउँदा स्थानीयवासीलाई आवातजावत र ढुवानीमा समस्या भएको छ ।

हालै स्वाँताखोलामा आएको बाढीले शिखतर्फबाट पुलसम्म पुग्ने सडक जगदेखिनै बगाएको थियो ।

निरन्तर पहिरो खसिरहने भएकाले पैदल हिँडेर आवतजावत गर्न पनि जोखिम र कठिनाइ भएको छ ।

बर्खा सकिएपछि पहिरो नियन्त्रण र वैकल्पिक सडक निर्माणको पहल गरिने शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button