गण्डकीसमाचार

बागलुङ बजारको एक दर्जनभन्दा बढी घर पहिराको जोखिममा

गण्डकी खबर । बागलुङ बजारको अदालत चौपारी, कम्पुटोल र नारायण चोकका एक दर्जनभन्दा बढी घर पहिराको जोखिममा परेका छन् ।

बागलुङ नगरपालिका–३ कैलाम पोखरीको वन हुँदै अदालत चौपारीसम्म पुग्ने सडकखण्ड पहिराले बगाएकाले २० दिनदेखि बन्द छ ।

तलबाट पहिरो खस्दै गएकाले सडकका साथै बजार छेउकै दर्जनभन्दा बढी घर जोखिममा परेको त्यहाँका बासिन्दा बताउछन् ।

निरन्तरको वर्षा र बस्तीमुनिको बगालुङ नगर खानेपानी लिफ्ट आयोजना निर्माणाकै अवस्थामा रहेकाले निरन्तर सडक भासिने र पहिरो जाने गरेको स्थानीयवासी पुष्पा केसीले बताउनुभयो ।

बागलुङ नगर खानेपानी उपभोक्ता संस्था र खानेपानी तथा ढल व्यवस्थापन विभागको संयुक्त लगानीमा तीन वर्षदेखि निर्माण

भइरहेको सो आयोजना अपुरै रहँदा कम्पुटोल, देउराली चोक तथा नारायण चोकका घर गत वर्षदेखि पहिरोको जोखिममा पर्दै आएका हुन् ।

कम्पुटोलका नौ घर गतवर्ष नै बर्खाको समयमा विस्थापित भइसकेका थिए भने देउराली चोकका पाँच घरका बासिन्दा पनि घर छोडेर अन्यत्रै बस्न गएका छन् ।

अहिले पुनः अदालत चौपारीदेखि कम्पुटोल जाने पछाडितिरको सडक नै भासिएकाले पुनः एक दर्जन घर जुनसुकै बेला भत्कने अवस्थामा पुगेको छ ।

कमजोर भू बनोट भएका स्थानमा सचेतता र सुरक्षाबिना खानेपानी आयोजना निर्माण गरिएका कारण यस्तो भएको जनाइएको छ ।

रु ४५ करोडको लागतमा बगालुङ बजारमा २४ सै घण्टा पानी वितरण गर्न काठेखोलाको पानी कैलाम पोखरीमा प्रशोधन गरी वितरण गरिने योजना छ ।

आयोजनाकै कारण बस्ती जोखिममा परेको कैलाम पोखरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयराम भारीले गुनासो गर्नुभयो ।

“नगरवासीलाई खानेपानी उपलब्ध गराउनाकै लागि भनेर वन मासेर आयोजना निर्माण गर्न दियौं” उहाँले भन्नुभयो, “

आयोजनाका कारण सडकमा पहिरो जाने र भासिने भएकाले एकातिर आयोजना नै के हुने हो भन्ने अन्योल छ भने अर्कोतिर

दर्जनभन्दा बढी घर जोखिममा छन्” ।

मनसुन सक्रिय भएयता निरन्तरको झरीले कम्पुटोल हुँदै गाँैडाकोट जाने सडक बगाएर पैदल यात्रासमेत गर्न नसकिने

भएकाले स्थानीयवासी देउराली चोकको सडक प्रयोग गर्न बाध्य भएका छन् ।

यसबारे वडा कार्यालय र नगरपालिकालाई ध्यानार्कषण गराउँदा पनि हालसम्म सुनुवाइ नभएको उनीहरूकोे गुनासो थियो ।

आयोजना र विभागसँग पहिराको विषयलाई लिएर निरन्तर छलफल भइरहेको नगरपालिकाको वडा नं ३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो ।

“ठूलो पहिरो छ, ग्याबिन चिनेर र पर्खाल लगाएर सडक बनाउदासमेत लाखौं खर्च लाग्ने अवस्था छ, थोरै खर्चको भए वडा कार्यालयले बनाउथ्यो”

उहाँले भन्नुभयो, “नगरपालिकासँग छलफल गरेर आयोजना संरक्षण र पहिरो व्यवस्थापन गर्न भनेका छौँ तर नागरिकको

अपेक्षानुसार सडक सञ्चालनमा ल्याउन र बस्ती सुरक्षित गर्न मुस्किल छ”।

नगर प्रमुख जनकराज पौडेलका अनुसार अहिले पहिराको अनुगमन गरिएको र ठेक्का लिएको कम्पनीले पहिरो मर्मत

नगरेपनि आयोजना संरक्षणका लागि छुट्टै बजेट ल्याएर काम गर्नुपर्ने देखिएको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button