
गण्डकी खबर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार नेतालाई चुनाव जिताउन जिम्मा लिएका छन् ।
माओवादीका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्बरबहादुर
थापा र कुर्मराज शाहीलाई सांसद पदमा जिताउने जिम्मा आफ्नो भएको बताएका हुन् ।
एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका आशिक झालाई सम्मान गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा
सम्बोधन गर्दै नेता नेपालले ती नेताको साथमा आफू भएको बताए।
माओवादी सरकारलाई साथ दिएको कारण उनीहरुलाई एमालेले सांसद पदबाट बर्खास्त गरेको थियो ।
नेता नेपालले चार सांसद गलत कुराविरुद्ध उभिएको बताउँदै उनीहरुलाई चुनाव जिताउने जिम्मा आफ्नो भएको बताए ।
उनले भने, अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीजीले बताउनुभयो कि उहाँहरुले बडो हिम्मतका साथ, साहसका साथ गलत
कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो। उहाँहरुको प्रदेश सभाको सदस्यता धरापमा छ। र, मैले भनिसकेको छु। तपाईंहरुको
संस्था धरापमा छ भने, यदि तपाईंहरुको संस्था खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने
जिम्मेवारी मेरो हुनेछ।
त्यसो हुनाले तपाईंहरु दृढताका साथ अगाडि बढ्नुस्। हामी साथमा छौं ।
पार्टीमा देखिएको विवादतर्फ संकेत गर्दै उनले शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने बताए ।
नेता नेपालले भने, ‘अँध्यारो सुरुङमा जाने बेला छैनौं । दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई माथ गरेर नै अगाडि बढ्नेछौं ।’
नेपाल अघि सोही कार्यक्रममा करणाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मर बहादुर थापाले सम्बोधन गरेका थिए।
उनले गत वैशाख ३ गते पार्टीको फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।
थापासहित एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा र कुर्मराज शाहीले पनि मत दिएका थिए।
जसकारण मुख्यमन्त्री शाहीले २२ मत पाएका थिए।



