कास्कीखेलकुदगण्डकीसमाचार

तमुधीं यूकेको टोलीले दियो सहारा क्लबलाई ५५ हजार सहयोग

पोखराको सहारा क्लबलाई तमुधीं यूकेको टोलीले ५५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बिहीबार सहारा क्लब पोखराले दोबिल्लास्थित ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’मा यूकेको टोलीलाई स्वागत कार्यक्रम राखेको थियो ।

कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले संस्थाले गरेका कामबाट आफूहरु प्रभावित भएको बताए । उनले क्लबका रचनात्मक तथा परोपकारी कार्यहरुमा आफूहरु निरन्तर जोडिदै जाने बताए । उनले क्लबले आयोजना गर्ने आहा ! रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिए ।

तमुधीं यूकेका संस्थापक सदस्य तथा सहारा यूकेका कार्यसमिति सदस्य मञ्जु गुरुङ राईले क्लबले सञ्चालन गरेको एकेडेमीको सफलताको कामना गर्दै खेलकुदमा अनुशासन महत्वपूर्ण हुने बताइन् । पूर्व राष्ट्रिय भलिबल प्रशिक्षक तथा खेलाडी समेत रहेकी उनले अनुशासन नै खेलाडीको गहना भएको बताइन् ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले तमुधीं यूकेको टोलीलाई पोखरामा स्वागत गर्दै मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्डमा तमुधीं यूकेले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा तमुधीं यूकेका तर्फबाट एकेडेमीका लागि ५५ हजार रुपैयाँ संस्थाका अध्यक्ष हरि गुरुङले क्लबका अध्यक्ष हरिराम गुरुङ सुरज, कोषाध्यक्ष विनु रानामगरलाई हस्तान्तरण गरे भने टोलीसँगै संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङका छोरा बेन्जेमेन गुरुङले एकेडेमीमा रहेका बालकहरुको खाजा तथा खानाका लागि २० हजार रुपैयाँ हस्तान्त्रण गरका थिए ।

वि.सं. २०६३ सालमा पोखरा – १७ दोबिल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरीद गरी शुरु गरिएको एकेडेमीको पुर्वाधार क्लबले तयार बनाईसकेको छ । अहिले एकेडेमीमा १५ बालकलाई रहेका छन् । क्लबले सामाजिक उत्तरदायीत्व निभाउनुका साथै नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप निरन्तर आयोजना गर्दै आएको छ ।

क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा सहारा हङकङका अध्यक्ष दीपक गुरुङले स्वागत मन्तव्य र सचिव सुनिल रानामगरले कार्यक्रम सञ्चालन गरेका थिए । यसैबीच तमुधीं यूकेको टोलीले पोखरा–१७ स्थित नौलो घुम्तीको पनि अवलोकन गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button