नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी वैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको उन्नाइसौँ बैठकमा अवार्ड कार्यक्रम आगामी वैशाख २२ गते गर्ने गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
सोही बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार स्व. त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा पन्ध्र हजार रुपैयाँ प्रदान गर्ने समेत निर्णय गरिएको मञ्चका प्रवत्ता समेत रहेका महासचिव पौडेलले जनाए । महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्व. पौडेलको स्मृतिमा दश लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।
यसैगरी मञ्चका कार्यसमिति सदस्य एमबि आस्था मगरले तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा बैठकले बधाई ज्ञापन गरेको छ ।
सातौँ सस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमका मिति तोकिएपछि प्रतिक्रिया दिँदै मञ्चका अध्यक्ष दीनानाथ बरालले अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए । ‘हामीले सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई उत्कृष्ट बनाउन आजबाट तयारी सुरु गरेका छौ, सबैको साथले कार्यक्रम भव्य बन्ने विश्वास छ’ बरालले भने ।
मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने अध्यक्ष बरालले खुलाए ।