गण्डकीसमाचार

तमुधिं युकेको भ्रमण टोलीको बिदाई

नेपाल भ्रमणमा रहेको तमुधिं युकेको टोलीलाई पोखरामा एक कार्यक्रम बीच बिदाई गरिएको छ ।

नेपाल भ्रमण २०२३ सकेर वेलायत फर्कन लागेको टोलीलाई तमुधिं नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी लगायतका संघ संस्थाले मंगलबार बेलुका बिदाई गरेका हुन्  । तमु प्येलु संघ, तमु संचारकर्मी संघ, तमु कलाकार संघ, सहारा क्लब पोखरा, नेपाल भूतपूर्व खेलाडी मञ्च, नौलो घुम्ती, बगरभाई खलक लगायतको संघसंस्थाले टोलीलाई विदाई गरेको हो ।

टोलीले यो पटक गुरुङ समुदायको बाक्लो वस्ती रहेको कास्कीको घान्द्रुक र सिक्लेस गाउँ, पर्वतको चारभञ्ज्याङ क्षेत्र र पूर्वस्थित ओखलढुंगाको रुम्जाटार क्षेत्रको भ्रमण गरेको थियो । तमुधिं युकेका अध्यक्ष हरि गुरुङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले नेपालको भ्रमणमा रहँदा यहाँ विभिन्न क्षेत्रमा नगदसहित सहयोग गरेको थियो ।

आफूहरुलाई विदाई गर्ने संघसंस्थालाई टोलीले बधाई ज्ञापन गर्यो। तमुधिं युकेको टोली नेपाल आए लगतै पोखरामा करिब २० वटा संस्थाले एकै थलोमा स्वागत गरेको थियो ।कार्यक्रममा स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि तमुधिं युकेले नगद १ लाख रुपैयाँ प्रदान गर्यो । अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्मारक निर्माण समितिका अध्यक्ष जंगबहादुर गुरुङ, महासचिव डा.चन्द्रबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले गुरुङहरुको एकता औंल्याए। गुरुङ जातिहरुको नाममा धेरै संघसंस्था र संगठन खुलेको बताउँदै मन्त्री गुरुङले गुरुङहरुको धेरै संघसंस्थाहरुलाई एउटै छाता संस्थामा एकीकृत गर्नुपर्ने कुरामा जोड दिए । उनले भने, ‘गुरुङ जातीका नाममा धेरै संघसंस्था खोलेर एकले अर्कोलाई दोषारोपण र गाली गर्नुभन्दा एउटै संघ, संगठनमा एकाकार गराएर त्यस संगठनलाई सशक्त र बलियो बनाउन सकिन्छ।’

तमुधिं युकेका अध्यक्ष हरि गुरुङले सबैले संविधान र कानूनलाई सर्वोपरी ठानी देश र जनताका लागि इमान्दार रहेर अघि बढेमा मात्रै देशमा समृद्धि ल्याउन सकिने बताए। कार्यक्रममा तमुधिं नेपालका अध्यक्ष हुम तमुले विदेशमा स्थापना भएको संस्था तमुधिं युकेले नेपालको सामाजिक संघसंस्था तथा खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएको चर्चा गरे।

तमुधिं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत र नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले कार्यक्रम संचालन गरेका थिए । उक्त अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले तमुधिं यूकेका अध्यक्ष हरि गुरुङलाई छैटौं पोखरा स्पोर्ट्स अवार्डमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्र हस्तान्तरण गरेका थिए । साथै तमुधिं यूकेको टोलीलाई बिदाई कार्यक्रममा मञ्चका अध्यक्ष बरालसहित मञ्चका सचिव शशिकुमार पौडेल, सदस्य नारायण शाही र सुदर्शन रन्जितको पनि सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button