गण्डकीसमाचार

“मन्त्रिपरिषद्को निर्णय २४ घण्टा भित्रै सार्वजनिक हुन्छ” : मन्त्री गाहामगर

गण्डकीका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले मंगलबार पोखराका अग्रज तथा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रिपरिषद्को निर्णय २४ घण्टा भित्रै सार्वजनिक हुने बताएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरामा गरेको अन्तरक्रिया कार्यक्रम बोल्दै कानूनमन्त्री गाहामगरले आफु मिडियामैत्री रहेको पनि बताए । उनले मिडिया विधेयक पारित गर्ने सन्दर्भमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने धारणा राखे । ‘मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रुपमा लिएका छौँ, उनले भने, ‘मन्त्रालयको सचिव, सम्बन्धित विषयका कर्मचारीहरुसँग आवश्यक छलफल गरेर यहाँहरुको समस्या सम्बोधन गर्ने कुरामा म सकरात्मक छु । त्यसैले यहाँहरुको राय अनुसार नै अघि बढ्नेछु ।’

मन्त्री गाहामगरले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेको बताउदै मन्त्रिपरिषद्को निर्णय २४ घण्टामा सार्वजनिक गर्न भनिएपनि त्यो भन्दा अगावै सार्वजनिक गर्ने सुनाए । यसैगरि उनले भर्खरै मात्र मन्त्रालय सम्हालेको उल्लेख गर्दै मन्त्रालय समायोजन र कर्मचारी व्यवस्थापनमा लागिरहेको बताए । ‘दुईवटा मन्त्रालय समायोजन भएको छ । र कर्मचारीको व्यवस्थापन पनि भइरहेको छ । त्यसैले केही दिनमै यी कामहरु सकिन्छ । त्यसपछि नीतिगत रुपमा कामहरु अगाडि बढ्नेछ ।’ मन्त्री गाहामगरले भने ।

उनले फरक प्रसङ्गमा बोल्दै मन्त्रालयले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तवरले वितरण गर्नेसमेत बताए । उनले आगामी दिनमासमेत पत्रकारहरुसँग समन्वय र सहकार्य गर्दै सकरात्मक काममा अघि बढ्ने धारणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा मन्त्रालयले हालसम्म गरेका गतिविधिको फेहरिस्तसमेत सार्वजनिक गरिएको थियो । कानून मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत खुबीराम पोख्रेलले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button