खेलकुदसमाचार

स्कटल्याण्ड माथि नेपालको ऐतिहासिक जीत

आइसिसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्याण्डले दिएको २७५ रनको चुनौतीपूर्ण लक्ष्यलाई पछ्याउँदै नेपालले तीन विकेटको ऐतिहासिक जीत हासिल गरेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि माइकल लिस्कले शतक प्रहार गरेपछि स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७५ रन बनाएको हो । स्कटल्याण्डका लागि ओपनर क्रिस्टोफर मेकब्राइडले २२ र रिची बेरिङटनले १९ रन बनाए । यसैगरी टोमस म्याकिन्टसले १९ तथा ब्रेन्डन म्याककुलनले २२ रनको योगदान दिए । क्रीस ग्रीभ्सले पनि १६ रन बनाए ।

एक समय स्कटल्याण्ड ६ विकेट गुमाउँदै एक सय १९ रनको स्थितिमा रहेपनि लिस्कले उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई चुनौतीपूर्ण लक्ष्यसम्म पुर्याएका थिए । लिस्कले अविजित १०७ रन बनाउँदा ज्याक जार्भिसले २६ रन बनाउँदै उनलाई गतिलो साथ दिए । मार्क वाटले पनि २० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले दुई र कुशल भुर्तेलले एक विकेट लिएका छन् । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले पनि एक-एक विकेट चट्काए । प्रतिउत्तरमा नेपालले उत्कृष्ट शुरूवात गर्यो । कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेपछि नेपालले तेस्रो ओभरमै ३० रनको आँकडा पार गरेको थियो । तर त्यसपछि भने खेलमा लय गुमाएको नेपालले ५५ रनमै ४ विकेट गुमाउन पुग्यो । कुशल भुर्तेल १६ बनाएर पवेलियन फर्केपछि आसिफ सेख, ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेल पनि सस्तैमा आउट भए ।

नेपालको संकटमोचक रुपमा आज कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी प्रस्तुत भए । मल्लले ८१ रनको उत्कृष्ट काउन्टर अट्याकिङ पारी खेल्दै टिमको स्कोरलाई तीव्र रुपमा अघि बढाए भने दीपेन्द्रले एङ्करको रोल खेले । मल्ल आउट भए पछि दीपेन्द्रले गुल्सन झा र सोमपाल कामीसँग महत्त्वपूर्ण साझेदारी बनाउँदै टोलीलाई जीतसम्म डोहोर्याए । दीपेन्द्रले अविजित ८५ रन बजाउँदा झाले १७ र सोमपाल कामीले नटआउट २४ रनको योगदान दिए ।

यस सँगै नेपालले जारी त्रिकोणात्मक सिरिजमा दोस्रो जीत हासिल गरेको छ । यस अघि नामिबियालाई कीर्तिमानी रन पछ्याउँदै जीत हासिल गरेको नेपालले दोस्रो खेलमा लिगको शीर्ष स्थानमा रहेको स्कटल्याण्डलाई पनि पराजित गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button