गण्डकीसमाचार

जनसंख्याले मात्रै पहुँच स्थापित गर्दैनः मन्त्री गाहामगर

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले जनासंख्याले मात्रै प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्न नसक्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको दोस्रो ठुलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीले आयोजना गरेको ‘बृहत खुल्ला सांस्कृतिक तथा मौलिक नृत्य प्रतियोगिता एवं प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो धारणा राखेका हुन् । उनले आदिवासी जनजाति समुदायको जनसँख्या धेरै भएपनि पहुँचको हिसाबले कमजोर रहेको बताए ।

‘आदिवासी जनजाति समुदाय संख्याको हिसाबमा धेरै छौँ । संख्याको हिसाबमा धेरै भएपनि विचार, संघर्ष र पहुँचमा पछाडी छौँ, मन्त्री गाहामगरले भने, ‘त्यसैले अब आदिवासी जनजातिको मौलिक हकका निम्ति एकढिक्का र गम्भीर हुन जरुरी छ ।’ उनले एकताले मात्रै पहुँच स्थापना नहुने बताउँदै शैक्षिक सशक्तिकरणको आवश्यकता रहेको उल्लेख गरे ।

मन्त्री गाहामगरले जनजाति सांस्कृतिक हिसाबले धनी रहेको बताउदै संरक्षणको जरुरी रहेको बताए । ‘हामी कल्चर र नेचरले धनी छौँ, यसको संरक्षण हुन नितान्त जरुरी छ । तपाईहरु विद्यार्थी जीवनबाट नै पढ्दै सिक्दै संस्कृति संरक्षणको विषयमा गम्भीर हुन आवश्यक छ, किनभने हाम्रो मौलिक तथा ऐतिहासिक संस्कृति र परम्परा बचाउनुपर्ने अवस्था आएको छ ।’ उनले भने । मन्त्री गाहामगरले विद्यार्थी नेताहरुलाई फरक–फरक पार्टीमा आवद्ध भएपनि समुदायको अधिकार प्राप्तिका लागि एकढिक्का भएर लाग्नसमेत सुझाब दिएका थिए ।

यसैगरी आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीको आयोजना र नेपाल मगर विद्यार्थी पृथ्वीनारायण क्याम्पस कमिटीको सहआयोजनामा सम्पन्न बृहत खुल्ला सांस्कृतिक तथा नृत्य प्रतियोगितामा सामुहिकतर्फ डिडी डान्स स्टुडियो प्रथम भएको छ ।
यस्तै प्रतियोगितामा न्यू ग्यालेक्सी बोर्डिङ स्कुल द्धितीय, फुलमुन डान्स स्टुडियो तृतीय र दीप मगर समाज र ज्ञानु बाबा बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरे ।

सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका समूहलाई क्रमशः १२ हजार, ८ हजार, ५ हजार र सान्त्वना भएका दुई समूहलाई समान २-२ हजार नगद राशी प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष अर्जुन बरामले जानकारी दिए ।

उनका अनुसार एकल नृत्यतर्फ यसोधा रोका प्रथम, सरु खत्री द्धितीय र डानियाल तृतीय भइन् । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button